धनगढी – कैलालीको धनगढीमा मङ्सिर २२ गतेदेखि शुरु हुने सुदूरपश्चिम महोत्सवको सम्पूर्ण काम पुरा भएको छ ।
धनगढी उपमहानगरपालिका १ स्थित मैदानमा हुने महोत्सवको सम्पूर्ण काम पुरा भएको आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले आज धनगढीमा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । महोत्सवको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने जनाईएको छ ।
महोत्सव उद्घाटन समारोहमा विभिन्न भेषभुषा, लोक संस्कृति झल्कने झाँकी प्रदर्शनी गरिने तयारी भइरहेको छ । सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कला, संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यका साथ २०६३ सालदेखि शुरु भएको महोत्सव यो १६ औँ संस्करण रहेको छ ।
महोत्सवमा स्थानीय खानपान, कृषि उपज, व्यापारिक लगायतका गरि करिब ४ सय स्टल रहने छन् । महोत्सव सञ्चालनका लागि करिब २ करोड खर्च हुने अनुमान सङ्घले गरेको छ । मङ्सिर २२ गते शुरु हुने महोत्सव पुस २ गतेसम्म सञ्चालन हुने छ । महोत्सव अवधिमा करिब १० करोड बराबरको कारोबार हुने अपेक्षा सङ्घले गरेको छ ।
महोत्सवमा कृषि प्रदर्शनी, कलाकारको प्रस्तुती, रमाइलो मेला, खानपानका परिकार, थारु गाउँ लगायत मुख्य आकर्षण रहने छन् ।