बैतडी – बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौँस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आज दर्शनार्थीको घुइँचो लागेको छ । उक्त मन्दिरमा जमानी जात्रा भएकाले दर्शनार्थीको घुइँचो लागेको स्थानीय दीपेन्द्र बोहराले जानकारी दिनुभयो ।
हरेक वर्षको मङ्सिर शुक्ल पूर्णिमाका दिन सो मन्दिरमा जमानी जात्रा लाग्ने गरेको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले बताउनुभयो । जमानी जात्रामा निङ्गलाशैनी भगवतीको भण्डार प्रदर्शन गर्ने चलन रहिआएको छ । भगवतीको भण्डार प्रदर्शन हुने भएकाले टाढा–टाढाबाट समेत भक्तजन दर्शनका लागि आउने गरेको बताइएको छ ।
हरेक वर्ष धान्य पूर्णिमाका दिन लाग्ने जात्रामा भगवतीको विशेष पूजाआजा हुने गरेको छ । जात्रामा भगवतीको दर्शनका लागि सीमावर्ती भारतीय क्षेत्रका दर्शनार्थीसमेत आउने गरेका छन् । जात्रामा निङ्गलाशैनी भगवतीको उत्पत्तिसँग जोडिएको ठाडो खेल र देउडासमेत खेल्ने गरिएको छ । अन्य समयमा लाग्ने जात्रामा मन्दिरमा पशुबलि हुने भए पनि यो जात्रामा कुनै प्रकारको बलि हुँदैन ।
जात्राअवधिभर देहिमाडौँ क्षेत्रमा मदिरा बेचबिखन तथा सेवनमा रोक लगाइएको छ । निङ्गलाशैनी भगवती मन्दिरमा चैतको नवरात्र, अनन्त चतुदर्शी, असोजको नवरात्र र धान्य पूर्णिमका दिन विशेष पूजाआजासहित जात्रा लाग्ने गर्दछ ।