बैतडी – फोहर व्यवस्थापनका लागि उपयुक्त ठाउँ नहुँदा बैतडीको पुर्चौंडी नगरपालिकामा व्यापारीहरुले नदीमै फोहर फाल्ने गरेका छन् । नगरपालिकाले फोहर व्यवस्थापनका लागि डम्पिङ साइड निर्माण गर्न नसक्दा व्यापारीहरुले नदीमै फोहर फाल्न थालेका हुन् ।
नगरपालिकामा गएको ५ बर्षमै डम्पिङ साइड निर्माण गरिसक्ने लक्ष्य रहेको थियो । तर डम्पिङ साइड निर्माणका लागि उपयुक्त जमीन नपाउँदा समस्या भएको पुर्चौंडी नगरपालिका वडा नं १ का वडा अध्यक्ष गणेशबहादुर गडालले बताए। यतिबेला नगरपालिकाले डम्पिङ साइडको व्यवस्था गर्न नसकेको भन्दै आलोचना समेत हुन थालेको छ ।
नगरपालिकाले फोहर व्यवस्थापनका लागि अस्थायी व्यवस्थापन गरेको भएपनि त्यो पार्याप्त नभएको र व्यापारीहरुले पनि सबै प्रकारका फोहर एकै ठाउँमा राख्ने भएकाले फोहर व्यवस्थापनमा समस्या भएको ध्यक्ष गडालले बताए ।
डम्पिङ साइड नहुँदा बजारबाट निस्कने फोहर जमाडी नदीमा फाल्ने गरिएको र यसले नदी फोहर हुँदै गएको स्थानीयहरुले बताएका छन् ।