काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदले प्रमाणपत्र लिएपछि मात्र संसदीय दलको नेता चयन गर्ने भएको छ ।
पहिलो हुने निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदको टुङ्गो लागिसकेको भए पनि समानुपातिक सांसद निर्वाचित भएको प्रमाणपत्र लिएपछि मात्र दलको नेता चयन गर्ने माओवादीको तयारी छ । माओवादीको पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले अन्य दलमा जस्तो संसदीय दलको नेता चयनमा विवाद नभएको र समानुपातिकतर्फबाट निर्वाचित सांसदले आधिकारिक प्रमाणपत्र पनि नलिएको अवस्थामा दलको नेता चयनमा हतारो नगरिएको दाबी गर्नुभयो ।
निर्वाचन आयोगले यही पुस ३ गते प्रतिनिधिसभामा समानुपातिकतर्फका सांसदलाई निर्वाचित भएको प्रमाणपत्र दिने तयारी गरेको छ । संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै चयन हुनेमा माओवादीभित्र एकमत रहेको उहाँको भनाइ छ ।
“पहिला निर्वाचन आयोगले आधिकारिक प्रमाणपत्र दिएपछि हामी दलको नेता चयन गर्छौं”, उहाँले भन्नुभयो, “दलको नेता चयनलाई लिएर हाम्रो पार्टीभित्र कुनै विमति छैन ।” गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ माओवादी केन्द्रका १८ र समानुपातिकतर्फ १४ सांसद निर्वाचित भएका छन् ।