धनगढी – सुदूरपश्चिम प्रदेश सभामा नेकपा माओवादी केन्द्रको संसदीय दलको नेता बन्न रस्साकस्सी सुरु भएको छ। अहिलेसम्म दलको नेताका लागि दुई जना प्रदेश सभा सदस्यले जवरजस्त दाबेदारी प्रस्तुत गरेका छन्।
डडेल्धुराको प्रदेश सभा (१) बाट सांसद बनेका खगराज भट्ट र कञ्चनपुर क्षेत्र नम्बर २ (१) बाट सांसद बनेका ओमबिक्रम भाट ‘सरल’ दलको नेताको लागि दौडधुपमा छन्। उनीहरुले दलको नेता बन्न निकटका सांसद तथा नेताहरुसँग छलफल तथा परामर्श गरिरहेको बताइएको छ।
यसअघि दलको नेतामा खगराज निर्विकल्प जस्तै देखिएका थिए। तर, उनलाई युवा नेता सरलले च्यालेन्ज दिने भएका छन्। उनी भन्छन्, ‘अबको राजनीति भनेको पहिलेजस्तो हुनु हुदैन। अब युवाले हस्तक्षेप गर्नुपर्छ। दलको नेताका लागि मेरो एकदमै शसक्त दाबेदारी छ। मैले साथीहरुसँग सल्लाह र छलफल पनि गरिहेको छु’, उनले थपे, ‘सर्वसम्मत हुन प्रयास गर्छु, नभए निर्वाचन प्रक्रियामा पनि जान तयार छु। अहिलेका लागि मैले आकांक्षा प्रस्तुत गरेको छु।’
माओवादी सुदूरपश्चिमको इन्चार्ज समेत रहेका भट्टले डडेल्धुरामा ०६४, ०७० र ०७४ मा शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका थिए। तर, यस पटकको संसदीय चुनावमा भने उनी प्रदेश मुख्यमन्त्री हुने भन्दै प्रदेश सभामा झरेका थिए। सरल माओवादीका युवा नेता हुन्। उनी कम उमेरमै प्रदेश सांसदमा विजयी भएपछि सुदूरपश्चिममा चर्चित छन्।