काठमाडौं: नेपाल प्रहरीकी बदनामित फरार इन्सपेक्टर बिनुकुमारी शाही जोडिएको मुद्दामा एकजना जेल चलान भएका छ। आज बिहीबार ललितपुरस्थित भैंसेपाटी प्रभागमा व्यापारीलाई थुनामा राखेर पैसा असुलिएको मुद्दामा योजनाकार भनिएका ताज इस्लाम जेल चलान भएका हुन्।
आज उनलाई जेल चलान गरिएको जिल्ला अदालत ललितपुरका प्रवक्ता/सूचना अधिकारी राम सजिवन महतोले महेन्द्रनगरपोष्टलाई जानकारी दिए।
उनका अनुसार जिल्ला अदालत, ललितपुरले बिहीबार थुनछेक आदेश दिदै इस्लामलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो। यस्तै महतोले अन्य तीन जनालाई धरौटी र सामान्य तारेखमा छाड्न भनेको छ।
न्यायाधीश टेकराज जोशीको इजलाशले सुष्मा विकसँग २ लाख र भिमादेवी थापासँग एक लाख धरौटी माग गरेको छ। सहायक हवल्दार महेन्द्र हमाललाई सामान्य तारेखमा छाड्ने आदेश भएको छ।
हवल्दार हमालले तत्कालिन इन्सपेक्टर बिनुकुमारी शाहीको निर्देशनमा पक्राउ परेका व्यापारीलाई पैसा हाल्न बैंकसम्म पठाएका थिए।
निलम्बित इन्सपेक्टर शाही र गिरोहका सदस्य दर्शन पोखरेल फरार छन्। उनीहरुले बलात्कार मुद्दामा फसाइदिने भन्दै बार्गेनिङ गरेर पैसा असुलेका थिए।
यस्तै सो घटनामा जोडिएका एसपी कमल थापामाथि भने थप अनुसन्धान गर्न सिआईबीलाई निर्देशन दिइएको छ। उनी संगठित अपराधसहितको मुद्दामा अनुसन्धानमा तानिएका थिए।
उनीहरूसहित ६ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो। जसमा प्रहरी प्रभाग भैंसेपाटीका तत्कालीन इन्सपेक्टर बशाही र सुनसरीका दर्शन पोखरेल भने फरार छन्। उनीहरु फरार भएकाले उनीहरुको हकमा कुनै आदेश आएको छैन। उनीहरूविरुद्ध आपराधिक लाभ र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको थियो।
यसअघि यो घटनाको अनुसन्धान जिल्ला प्रहरी परिसर ललितपुरले गरेको थियो। अनुसन्धानका क्रममा उक्त घटनामा एसपी थापाको समेत संलग्नता देखिएको भन्दै थप अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिइएको थियो।
हनी ट्रयापमा फसाउने योजना अनुसार सुनसरीबाट ताज र दर्शन जहाजमा र सुष्मा र भीमा गाडी चढेर काठमाडौं आएर ७ असोजमा शान्ति सुरक्षामा असर पारेको भन्दै ती व्यवसायीविरुद्ध प्रहरी प्रभाग भैंसेपाटीमा निवेदन दिएका थिए। त्यसपछि रकम उठाउने खेल सुरु भएको प्रहरी अनुसन्धानले देखाएको छ।
प्रहरीले अनुसन्धानका क्रममा हनी ट्रयाप प्रकरणका मुख्य योजनाकार ताज स्लामको मोबाइल र १० लाख रुपैयाँको चेक समेत गायब बनाइएको निष्कर्ष निकालेको थियो।
पीडित व्यवसायीले नगद २० लाख रूपैयाँ प्रतिवादी भीमादेवीको खातामा जम्मा गरेका थिए भने १० लाखको चेक दिएका थिए। सबै काम इन्सपेक्टर बिनुको रोहबरमा भएको अनुसन्धानबाट खुलेपछि उनलाई पनि प्रतिवादी बनाइएको थियो।
सहायक हवलदार हमालमाथि युवतीको प्रयोग गरेर (हनी ट्रयाप) व्यवसायीबाट असुल गरिएको रकम दुई पटक आफैंले बैंकमा जम्मा गर्न लगाएको आरोप थियो। हिरासतमै रहेकी सुष्मा विक हनी ट्रयापमा व्यवसायीलाई फसाउन प्रयोग भएकी युवती र ताज स्लाम हनी ट्रयापको मुख्य योजनाकार रहेको सीआईबीको निष्कर्ष छ।
र, यो पनि: सीआईबीमा जोगाइएका एसपी थापामाथि अनुसन्धान गर्न लिखित निर्देशन, पुरक अभियोग लगाइने
फरार इन्सपेक्टर बिनुकुमारीसहित ६ जनाविरुद्ध मुद्दा, एसपीमाथि अनुसन्धानको राय