काठमाडौं: प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाही जोडिएको भैँसेपाटीको ‘हनी ट्रयाप’ घटनामा नेपाल प्रहरीका विवादित प्रहरी उपरीक्षक (एसपी) कमल थापामाथि थप अनुसन्धान गर्न जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले निर्देशन दिएको छ। बहालवाला एसपी थापाकै पूरा ठेगाना नखुलेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई जोगाएर अनुसन्धान प्रतिवेदन बुझाएको थियो।
तर उनको संलग्नता देखिएको भन्दै थप अनुसन्धान गरेर पूरक प्रतिवेदन पेस गर्न जिल्ला सरकारी वकिल कार्यालयले सीआईबीलाई आइतबार निर्देशन दिएको छ। जिल्ला सरकारी वकिल कार्यालय ललितपुरका प्रवक्ता सहायक जिल्ला न्यायाधिवक्ता भरतकुमार मैनालीले चार जनामाथि थप अनुसन्धान गर्न निर्देशन दिएको बताए।
ताज इस्लामले बयानका क्रममा प्रहरी उपरीक्षक कमल थापा, भगवती थापा, अनिसा कार्की र खुसी रसाइलीको समेत संलग्नता खुलाएका थिए। घटनाका मुख्य योजनाकार समेत रहेका इस्लाम र प्रहरी निरीक्षक बिनुकुमारी शाहीको एसपी थापा मार्फत नै चिनजान भएको खुलेको थियो।
जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गर्दा एसपी थापाको संलग्नता देखिएको भन्दै प्रहरी प्रधान कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आगोगबाट समेत फिर्ता बोलाएको थियो। तर प्रहरी नै संलग्न रहेको यो घटना ललितपुर जिल्ला प्रहरी परिसरबाट अनुसन्धान हुन नदिन आरोपित शाहीले गृह मन्त्रालयले निवेदन दिएकी थिइन्। आरोपितको निवेदनपछि प्रहरी प्रधान कार्यालयले बाँकी अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिएको थियो।
सीआईबीले एसपी थापालाई झिकाएर बयान कागज गराएको थियो। तर इस्लामले उनको समेत संलग्नता रहेको खुलाएको भए पनि सीआईबीले उनलाई प्रतिवादी नबनाउने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो।
तर सरकारी वकिल कार्यालयले भने उनलाई प्रतिवादी बनाउन पर्ने निष्कर्षसहित थप अनुसन्धान गरेर प्रतिवेदन पेस गर्न निर्देशन दिएको हो।
सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनुकुमारी शाहीसहित ६ जनाविरुद्ध जिल्ला अदालतमा अभियोग दायर गरेको छ।
यीमध्ये चारजना मात्रै पक्राउ परेका छन्। प्रहरी निरीक्षक शाही र दर्शन पोखरेल फरार छन्। पक्राउ परेका भीमादेवी थापा, सुस्मा विश्वकर्मा, महेन्द्र हमाल र ताजमुल भन्ने ताजमुल इस्लामलाई पनि प्रतिवादी बनाइएको छ। सहायक हवल्दार हमाल इन्सपेक्टर शाहीका सवारी चालक समेत हुन्।
उनीहरुलाई संगठित अपराध र आपराधिक लाभको कसुरमा अभियोग दायर गरिएको हो। उनीहरुबाट बरामद गरिएका सामग्री र खातामा भएको रकम रोक्का राखी पीडितलाई क्षतिपूर्ति भराउन पनि माग गरिएको छ। प्रतिवादीहरुबाट २० लाख रुपैयाँ क्षतिपूर्ति माग गरिएको जिल्ला अदालत ललितपुरका प्रवक्ता राम सजीवन महतोले बताए।
अहिले वतन नखुलेका भनिएका चारजना र बाँकी कसैको संलग्नता खुलेमा पूरक अभियोग पेस गरिने पनि अभियोग पत्रमा उल्लेख छ। घटनामा एकजना विदेशीको पनि संलग्नता खुल्ने ह्वाट्सएपमा म्यासेज फेला परेको उल्लेख छ।
उनीहरुले एक व्यवसायीलाई सुनसरी बोलाएर विभिन्न ठाउँ घुमेको र काठमाडौँ फर्किएपछि बलात्कारको मुद्दा लगाइदिने भन्दै रकम बार्गेनिङ गरेको खुलेको थियो। व्यवसायीसँग ३० लाख रुपैयाँमा डिल भएको थियो। व्यवसायीलाई रकम नदिए बलात्कारको मुद्दा चलाइदिने कुरामा भैँसेपाटी प्रभागकी प्रमुख समेत रहेकी शाहीको समेत मिलेमतो देखिएको हो।
भीमादेवीको खातामा व्यवसायीले रकम जम्मा गरिदिएका थिए। ३० लाखमा सहमति भए पनि २० लाख रुपैयाँ मात्रै बुझाइसकेको प्रहरीको निष्कर्ष छ। रकम जम्मा गर्न जाँदा समेत प्रहरीको संलग्नता देखिएको छ।
यस्तै उनीहरुको बयानबाट पनि यसको पुष्टि भएको अभियोग पत्रमा उल्लेख छ। व्यवसायीलाई हनी ट्रयापमा फसाउन लागेको घटना सार्वजनिक भएपछि शाहीलाई जिम्मेवारी मुक्त गरेर छानबिन गरिएको थियो। उनको संलग्नता देखिएको निष्कर्षसहित समितिले निलम्बन गरेर अनुसन्धान गर्न सिफारिस गरेको थियो।
निलम्बित भएर अनुसन्धान अगाडि बढेपछि शाही भने फरार भएकी थिइन्। उनलाई सीआईबीले समेत पक्राउ गर्न सकेन र फरार भन्दै मुद्दा बुझाएको थियो।
उता सिआईबीले भने एसपी थापासँग पनि सोधपुछ गरेको थियो। तर, पर्याप्त प्रमाण नभएको भनेर उनलाई जोगाइएको थियो।
अहिले उनलाई पनि अनुसन्धानमा तान्ने अभियोगपत्रमा भनिएको छ,‘प्रतिवादी ताजताजमुल भन्ने ताजम्मुल इस्लामको बयान पोलमा परेका प्रउ कमल थापा, भगवती थापा, अनिषा कार्की र खुशी रसाइली समेतको घटना विवरण कागज मिसिल संलग्न हुन आएको देखिन्छ, निजहरूको संलग्नताको सम्बन्धमा थप प्रमाण खुलि आएका बखत तथा प्रस्तुत कसुर अपराधमा संलग्न अन्य कोही कसैको संलग्नता रहेको भनी खुल्न आएका बखत मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३५ तथा संगठित अपराध निवारण ऐन २०७० को दफा २२ अनुसार थप अभियोगपत्र पेस गरिने ब्यहोरा समेत अनुरोध छ।’
गिरोहका नाइके रहेका इस्लामले एसपी थापाले नै आफूलाई इन्स्पेक्टर शाहीसँग भेट गराइदिएर त्यसरी पैसा असुल्ने सघाएको बयान दिएका छन्।
साथै, घटनाकै दिन उनीहरुबीच विमानस्थलको बर्गर हाउस रेष्टुरेन्टमा आधा घण्टा छलफल भएको थियो। जस आधारमा उनी पनि योजनाकार रहेको प्रहरीको छानबिनमा देखिएको थियो।
तर, चलखेलका आधारमा उनलाई जोगाइएको हो। यद्यपि सरकारी वकिल कार्यालयले उनीमाथि थप अनुसन्धान गर्न लिखित निर्देशन दिएको छ।
उक्त घटनामा पक्राउ परेका ताजम्मुल इस्लामको मोबाइल हालसम्म फेला परेको छैन। इन्स्पेक्टर शाहीको मोबाइलको समेत डिजिटल फरेन्सिक जाँच नगरिएको विषयमा प्रश्न उठाउँदै जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले सीआईबीलाई पत्र काटेको छ।
जिल्ला सरकारी वकिल कार्यालयले प्रतिवादी ताजम्मुलको बयान पोलमा परेका एसपी थापा, भगवती थापा, अनिषा कार्की र खुसी रसाइली समेतको घटना विवरण मिसिलमा संलग्न भएको उल्लेख गरेको छ। उनीहरूको संलग्नताबारे प्रमाण पुगेपछि पूरक अभियोग ल्याउने प्रतिबद्धतासहित आइतबार ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालयका सूचना अधिकारी भरत मैनालीले जानकारी दिए।
उनका अनुसार, कसुरमा अरू कोहीको संलग्नता रहेको भनी खुल्न आए सोही बखत मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३५ तथा संगठित अपराध निवारण ऐन, २०७० को दफा २२ अनुसार थप अभियोगपत्र पेस गरिने व्यहोरा खुलाइएको छ।
सीआईबीले गएको मंगलबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय ललितपुरमा बुझाएको थियो।
त्यसअघि, जिल्ला प्रहरी परिसर ललितपुरको अनुसन्धानमा उक्त घटनामा पक्राउ परेका इटहरीका ताजम्मुल र दर्शन पोखरेल समूहले ललितपुरका एक व्यवसायीलाई हनी ट्रयापमा पारेर रकम असुल गरेको खुलेको थियो। घटनामा ललितपुर जिल्लाबाहिर समेत अनुसन्धान गर्नुपर्ने भएपछि सीआईबीलाई जिम्मा लगाइएको थियो।
र, यो पनि: फरार इन्सपेक्टर बिनुकुमारीसहित ६ जनाविरुद्ध मुद्दा, एसपीमाथि अनुसन्धानको राय