धनगढी: स्थानीय तहको उपनिर्वाचन आगामी मंसिर १६ गते हुँदै छ। यसअन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका-६ मा पनि वडाध्यक्षका लागि प्रतिस्पर्धा हुँदै छ। जुन रोचक देखिएको छ। किनकि यहाँ एकै परिवारका दुई सदस्य छुट्टाछुट्टै राजनीतिक दलबाट चुनावी मैदानमा उत्रिएका छन्।
सत्तारुढ नेकपा एमालेले वडाध्यक्षमा बहादुर चन्दलाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसले उनकै भतिजा प्रकाश चन्दलाई।
कांग्रेस उम्मेदवार प्रकाश एमाले उम्मेदवार बहादुरका जेठा दाइका छोरा हुन्। आज उपनिर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न राजनीतिक दलका नेता(कार्यकर्ता चुनावी प्रचारप्रसारमा अन्तिम दिन सक्रिय छन् भने स्वतन्त्र उम्मेदवारले पनि चुनावी एजेन्डा देखाएर मत मागिरहेका छन्। आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदैछ।
तत्कालीन समयमा सो वडाका अध्यक्ष सवारी दुर्घटनामा बितेका थिए। त्यसपछि काँग्रेसबाट प्रकाश चन्द चुनावी मैदानमा छन् त्यस्तै एमालेबाट उनका काका मुख्य प्रतिस्पर्धीका रुपमा हेरिएका छन्।
यस्तै माओवादी केन्द्रका उम्मेदवार नानाराम कोली पनि आफू जित्ने दाबीसहित प्रतिस्पर्धामा छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रामदत्त भट्ट, एकीकृत समाजवादी पार्टीबाट जितेन्द्रबहादुर चन्द, राप्रपाबाट सुशील कुमार भट्ट चुनावमा उम्मेदवार छन्।
त्यस्तै स्वतन्त्र उम्मेदवार थानेश्वर लेखकसहित यहाँ उपचुनावमा १० राजनीतिक दल र दुई जना स्वतन्त्र उम्मेदवार मैदानमा छन्।
यस्तो छ अंकगणित
०७९ को स्थानीय तह चुनावमा भीमदत्त नगरपालिका–६ को वडाध्यक्षमा नेपाली कांग्रेस प्यानल नै विजयी भएको थियो। कांग्रेसबाट निर्वाचित वडाध्यक्ष महेन्द्र खड्काको ०८० पुस २६ मा निधन भएपछि यहाँ वडाध्यक्ष पद रिक्त छ।
२०७९ को चुनावमा कांग्रेसले वडाध्यक्षमा १ हजार १ सय २ मत ल्याएको थियो। निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जनकराज अवस्थीले ६ सय ९८ मत ल्याएका थिए। राप्रपाका सुशीलकुमार भट्टले ४ सय ८७ र नेकपा एकीकृत समाजवादीका जितेन्द्र बहादुर चन्द २ सय ३२ मत पाएका थिए।