काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले नयाँ सरकारको नेतृत्वमा प्रचण्डको सत्तारोहण अपेक्षित नभएको बताएका छन् । सोमबार अपरान्ह विज्ञप्ति जारी गर्दै उनले यस्तो बताएका हुन् ।
संसदको तेश्रो शक्ति भएर पनि सांसदहरूको अत्याधिक बहुमत जुटाई प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डलाई बधाई दिंदै डा.कोइरालाले अब कांग्रेस नयाँ अभियानका साथ अघि बढ्ने पनि बताएका छन् ।
उनले विज्ञप्तिमा भनेका छन्,‘कांग्रेस अब राष्ट्रिय राजनीतिमा नयाँ भूमिकामा प्रवेश गर्दैछ । कांग्रेस केन्द्रदेखि प्रदेश सवैतिर विपक्षमा बस्नुपर्ने वातावरण हठात आएको छ । यसबाट हामी निराश हुने छैनौँ । यहाँवाट हामी सबैको परीक्षा शुरू भएको ठानी अब हामी फेरि नयाँ ढंगले जनता बीच जानेछौँ । पार्टीको गल्ती कमजोरीको लागि माफी माग्नेछौँ । जनतासँग संवाद शुरू गरेर नयाँ कांग्रेस निर्माणको महाअभियानमा जुटनुको हामीसँग अब विकल्प छैन ।’
नेकपा माओवादी केन्द्रको अस्थिर राजनीतिक चरित्र फेरि एकपटक उदाङ्गिएको समेत उनले बताएका छन् । उनले विज्ञप्तीमा भनेका छन्- ‘नयाँ सरकारको नेतृत्वमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सत्तारोहण अराजनीतिक र अराजकताको पराकाष्ठा मानिन्छ ।’