काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालै मन्त्रिपरिषद्ले पूर्णता नपाउने सङ्केत गरेका छन् ।
मदन भण्डारी स्पोर्टस एकेडेमीको १४ औँ स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले खेलकुदमन्त्री नै छैन । खेलकुदमन्त्री आउँदा अझै १०/१५ दिन लाग्न सक्छ । खेलकुद मन्त्री आएपछि म भन्छु खेलाडीहरूलाई सरकारले हेरोस् ।’
खेलकुद क्षेत्रको विकासका लागि आफूले सरकारसमक्ष माग गरेर पहल गर्ने बताए । उनले खेलकुददेखि राजनीतिसम्म कहीँ पनि फल खेल्न नहुने बताए ।
पाँचदलीय गठबन्धन भत्काएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाएको प्रसङ्गलाई उनले सङ्केत गर्दै भने, ‘राजनीतिमा पनि फउल खेल्न हुँदैन । एल्लो कार्ड, कहिलेकाहीँ त रेड कार्ड नै दिएर आउट गर्नुपर्छ । सफलताका लागि फउल नगरी खेल्नुपर्छ ।’
ओलीको प्रचण्डलाई प्रधानमन्त्री स्विकार्ने निर्णयले प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल बनेको नेपाली काँग्रेस सङ्घदेखि प्रदेशसम्म सत्ताबाहिर पुगेको छ ।