काठमाडौँ – नेपाल टी-२० लिगमा म्याच फिक्सिङ भएको हुनसक्ने आशङ्का सार्वजनिक भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान थालेको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले यस विषयमा छानबिन गर्न प्रहरी प्रधान कार्यालय, नक्साललाई निर्देशन दिएका थिए ।
गृहबाट आएको निर्देशनका आधारमा प्रहरी प्रधान कार्यालयले सीआईबीलाई अनुसन्धान गर्न बुधबार पत्र पठाएको थियो । त्यही आधारमा छानबिन थालिएको बताइएको छ ।
प्रहरी स्रोतका अनुसार सामाजिक सञ्जाल र सञ्चारमाध्यममा यस विषयमा विवरणहरू सार्वजनिक भएसँगै सीआईबीले यसमा चासो देखाएको थियो । गृह र प्रहरी प्रधान कार्यालयबाट पत्राचार नै भएपछि छुट्टै टोली गठन गरेर अनुसन्धान सुरु भएको छ ।
काठमाडौँ नाइट्स क्लबका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो खेलाडीलाई ‘फिक्सिङका लागि एप्रोच’ गरिएको बताउँदै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ‘एन्टी करप्सन युनिट’लाई जानकारी गराएको बताएका थिए । प्रतियोगिताका कमेन्टेटटर सचिन तिमल्सिनाले पनि फिक्सिङ भएको दाबीसहित फेसबुकमा भिडियो वक्तव्य जारी गरेर जिम्मेवारीबाट बाहिरिएको घोषणा गरेका थिए । तर, अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरूले बाहिर सार्वजनिकरुपमा बोल्ने खेलाडी र अफिसियलहरुबाट सहयोग नपाएको गुनासो गर्ने गरेका छन् ।
सीआईबीले औपचारिकरुपमा अनुसन्धान सुरु गरेकै दिन नेपाल क्रिकेट सङ्घ (क्यान)ले पनि जारी खेलमा म्याच फिक्सिङ भएको आरोप गलत रहेको दाबी गर्दै वक्तव्य जारी गरेको छ । क्यानले नेपाली क्रिकेट र राष्ट्रकै नाममा ठेस पुर्याउने गरी यस्ता मिथ्या र भ्रामक सूचना नफैलाउन पनि भनेको छ ।
जारी खेलमा बेटिङसमेत भइरहेको छ । अनलाइन ब्याटिङका लागि चर्चित एप वानएक्सवेटले यसमा सट्टेबाजी गराइरहेको छ । सट्टेबाजीमा संलग्न कम्तिमा ४० जनालाई सीआईबीले पक्राउ गरिसकेको छ ।
‘पक्राउ गरेर थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँको जिम्मा लगाएका छौँ’, ब्युरोका प्रमुख सुवेदी भन्छन्, ‘ब्याटिङ र फिक्सिङको सन्दर्भ बेग्लाबेग्लै भएकाले छुट्टाछुट्टै अनुसन्धान जारी छ ।’
प्रतियोगितामा विदेशी खेलाडीलाई श्रम स्वीकृतिबिना खेलाइएको आरोप पनि लागेको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा ९ पुसदेखि सुरु भएको खेल २७ पुससम्म चल्नेछ ।