धनगढी : शनिबार कैलालीको भजनी नगरपालिका-९ पचमुडियाका एक सय ७४ थारू समुदायका घर परिवार बिहानैदेखि खुला चौरमा गई बसे ।
लहरै खाना पकाउनका लागि चुलो बनाइएको छ भने खाने कुरा पनि राखिएका थिए । बिहानै गएका उनीहरु बेलुका अबेर घर फर्किए ।
शनिबार नै कैलालीको घोडाघोडी नगरपालिका-८ दीपनगरका थारू समुदाय पनि नदी छेउमा गई बसे । बिहानै गएका उनीहरु त्यहीँ खानपिन गरेर बेलुका घर फर्किए ।
गएको मङ्गलबारदेखि बिहीबारसम्म घोडाघोडी नगरपालिका-११ सिसैयाका ६२ थारू परिवार पनि कन्द्रा नदी किनारमा खुला आकाशमुनि त्यसैगरी बसेर फर्के । खानेकुरासहित दुई रात बास बसेर उनीहरु घर फर्के ।
यसरी नदी छेउ गएर खुलाचौरमा उनीहरु कुनै बाध्यताले नभई थारूहरुको महत्वपूर्ण पूजा भजहर मनाउन बसेका थिए । अहिले कैलाली कञ्चनपुरलगायतका थारू समुदायमा भजहरको रौनक छाएको छ ।
भजहर मनाउन उनीहरु खुला चौरमुनि बसिरहेका देखिन्छन् ।
वैशाख महिनामा मनाइने यो पर्व थारू समुदायले गर्ने पूजामध्ये एक हो । यो पूजासँगै थारू समुदायमा लवाङ्गी पूजा, हरहर पूजा गर्ने गरिन्छ । लवाङ्गी र हरहर पूजा अन्नबालीसँग जोडिएको हुन्छ भने, भजहर गर्मीयाम सुरु भएसँगै विभिन्न रोगव्याधिले सताउने हुँदा त्यस्ता रोग व्याधि नलागोस् भनेर पूजा गरिन्छ ।
भजहरको दिन बिहानै गुरुवामार्फत नवदुर्गाको पूजा गरिन्छ । दुर्गालाई खुसी पार्न पशुपक्षीको बलि दिने, गुरुवाले आफ्नो जिब्रो छेडेरे देवीलाई रगत चढाउने गरेको घोडाघोडी नगरपालिकाका नगर भल्मन्सा बुधराम चौधरीले जानकारी दिए ।
यसले गर्दा महामारी, रोग व्याधि हट्ने मान्यता रहेको उहाँले बताए । पूजाका लागि गाउँका सबै जना मिलेर पैसा सङ्कलन गरी भेडा, पाठी, सुँगुर र कुखुरा बलि दिने गरिन्छ ।
दुर्गालाई पूजा गरे सुखशान्ति छाउने र कुनै पनि महामारीले नछुने गुरुवा पञ्चराम चौधरी बताउँछन् । पहिले र अहिले भजहर मनाउने तरिका केही फरक भएको छ ।