काठमाडौँ – केबलकारसँग सम्बन्धित सम्भावित दुर्घटनाहरूलाई दृष्टिगत गरी सोको पूर्व तयारी स्वरूप नेपाली सेनाले ‘केबलकार उद्धार अभ्यास’ सञ्चालन गरेको छ । चन्द्रागिरि हिल्स् लिमिटेडसँग सहकार्य गरी सोमबार सेनाले थानकोटमा अभ्यासको आयोजना गरेको हो ।
सेनाले विविध कारणले केबलकार रोकिन गई फसेका यात्रुहरूलाई हाई लाइन रेस्क्यू तरिकाद्वारा सुरक्षित तवरले जमिनमा उतार्ने अभ्यास गरेको थियो । सो क्रममा उद्धारकर्ताहरूबाट घाइते तथा सद्दे मानिसलाई विभिन्न तरिकाले जमिनमा उतार्ने अभ्यासहरू गरिएको सेनाले जानकारी दिएको छ ।
यस किसिमको अभ्यासबाट केबलकारसँग सम्बन्धित दुर्घटना घटेको अवस्थामा छिटो र प्रभावकारी उद्धार कार्यका लागि फौजलाई सक्षम तुल्याउन र भविष्यमा हवाई साधनको समेत प्रयोग गरी जटिल प्रकारको केबलकार उद्धार अभ्यास सञ्चालनको लागि योजना तयार गर्न समेत मद्दत पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।