काठमाडौँ – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि अवैध रूपमा सञ्चालित क्रसर र बालुवा प्रशोधन उद्योग बन्द भएका छन् । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार व्यावसायिक प्रयोजन राखेर सञ्चालित ७ सय ३७ वटा क्रसर र बालुवा प्रशोधन उद्योग बन्द भएका हुन् ।
दर्ता नभई सञ्चालनमा आएका क्रसर र बालुवा प्रशोधन केन्द्र स्थानीय प्रशासनले बन्द गराएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणी पोखरेलले बताए ।
प्रक्रिया पुरा गरेर दर्ता भएको तर, नवीकरण नभएको क्रसर र बालुवा उद्योगको संख्या १४३ छन् । व्यावसायिक प्रयोजनमा सञ्चालित त्यस्ता उद्योग नवीकरण प्रक्रियामा रहेको बताइएको छ ।
दर्ता र नवीकरणसहित व्यावसायिक प्रयोजनमा देशभर ७ सय ३४ वटा क्रसर र बालुवा प्रशोधन उद्योग सञ्चालनमा रहेको पाइएको छ । विकास आयोजनाहरूले दर्ता र नवीकरण गरेर १०८ वटा त्यस्ता उद्योग सञ्चालन गरेको भेटिएको छ ।
गृह मन्त्रालयका अनुसार अहिले देशभर वैधानिक रूपमा ८४२ क्रसर र बालुवा उद्योग सञ्चालनमा छन् ।