काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले प्राकृतिक सुन्दरता र विविधतायुक्त संस्कृतिलाई प्रवर्धन गर्न सके आर्थिक विकासमा फड्को मार्न सकिने बताएकी छन् ।
कर्णाली कलाकार समाज र कनका सुन्दरी फिल्म्सले संयुक्त रूपमा मङ्गलवार काठमाडौँमा आयोजना गरेको ‘रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९’ कार्यक्रममा राष्ट्रपति भण्डारीले प्राकृतिक सुन्दरता र विविधतायुक्त संस्कृतिमा आधारित पर्यटन प्रवर्द्धनको ठोस योजना तथा कार्यक्रम अगाडि सारेर यसको कार्यान्वयन गर्न सके आर्थिक विकासमा फड्को मार्न सकिने बताइन् ।
उनले आधुनिक, भौतिक र पूर्वाधार विकासका दृष्टिले कर्णाली पछि परे पनि सभ्यता र संस्कृतिमा समृद्ध रहेको बताइन् ।
गुणस्तरीय शिक्षामार्फत दक्ष जनशक्ति उत्पादन गरी कर्णालीमा रहेको प्राकृतिक स्रोत र साधन सदुपयोग गर्न सके सामाजिक तथा आर्थिक रूपमा समेत कर्णाली क्षेत्रलाई माथि उठाउन सकिने उनको भनाइ छ ।