काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही मन्त्रालयका सचिवहरूसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले बाँकेमा फैलिएको दादुराको विषयलाई लिएर स्वास्थ्य मन्त्रालयको टोलीसँग छलफल गरेका हो ।
सबै संयन्त्रहरूलाई परिचालन गरी तत्काल नियन्त्रण गर्नेबारे छलफल भएको छ ।
त्यसै गरी अवैध ढुङ्गा, गिट्टी, बालुवा रोक्ने गृहको निर्णयबारे पनि प्रधानमन्त्रीले गृह सचिव विनोद प्रकाश सिंह र संघीय मामिला तथा सामान्य प्रशासन सचिव अर्जुन पोखरेलसँग छलफल गरेका छन् । गृहले मापदण्ड विपरीत सञ्चालित क्रसर उद्योगहरू बन्द गर्ने निर्णयपछि उत्पन्न परिस्थितिबारे प्रधानमन्त्रीले छलफल गरेको स्रोतले बतायाे।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सामाग्री अभाव भएकोले काम गर्न नसकिएको गुनासोसँगै प्रधानमन्त्रीले यसबारे रोक्न निर्देशन दिने गृह र खोल्न अनुमति दिने संघीय मामिला मन्त्रालयका सचिवलाई बोलाएर छलफल गरेका हुन् ।
अन्य केही सचिवहरूसँग सामान्य भेटघाट भए पनि स्वास्थ्य र ढुङ्गा, गिट्टी, बालुवालगायत विषयमा गहन छलफल भएको सचिवालय स्रोतले जनाएको छ ।