काठमाण्डाै – तापक्रम बढ्दा काठमाण्डौ उपत्यकामा चिसो कम हुँदै गएको छ ।
काठमाण्डौसहित बाग्मती प्रदेशका धेरैजसो ठाउँमा नै चिसो कम भएको छ । यस्तै, प्रदेश १ का पहाडी जिल्लामा पनि तापक्रम बढ्न थालेको छ । बिहानको काठमाण्डौको न्यूनतम तापक्रम ४ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ ।
हिजो अधिकतम तापक्रम १९ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो । आज पनि पारिलो घाम लाग्ने भएकाले बिहान बेलुका चिसो भए पनि दिउँसाे न्यानो हुनेछ । हिउँदे वर्षा नहुँदा र पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव खासै नपर्दा काठमाण्डौसहित बाग्मती र प्रदेश १ का पहाडी क्षेत्रमा न्यूनतम र अधिकतम तापक्रम बढ्न थालेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार आज पनि यी क्षेत्रमा पारिलो घाम लाग्ने सम्भावना छ । तर, तराईका जिल्लामा भने बाक्लो हुस्सु कुहिरो छ । यसले गर्दा पहाडी जिल्लाको तुलनामा तराईमा चिसो धेरै छ ।
यस्तै, पश्चिमी न्यून चापीय प्रणालीको केही प्रभाव रहेकाले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको मौसम पनि आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ । भोलिदेखि भने यी प्रदेशको मौसम पनि खुल्ने सम्भावना रहेको मौसमविद् महर्जनले बताउनुभयो ।