धनगढी: डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले समाचार प्रकाशनको बिषयलाई लिएर धम्कीविरुद्ध नेपाल पत्रकार महासंघ उभिएको छ।
डडेल्धुराबाट सञ्चालन हुने एक मिडियाबाट समाचार हटाउन प्रमुख जिल्ला अधिकारीले लिखित निर्देशन दिएको भन्दै नेपाल पत्रकार महासंघको डडेल्धुरा जिल्ला, सुदूरपश्चिम प्रदेश र केन्दीय समितिविरुद्धमा उभिएको हो।
तीन वटै कार्यसमितिले बुधबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै समाचार हटाउन जिल्ला प्रशासन कार्यालय डडेल्धुराबाट गरिएको पत्राचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गर्दै समाचार हटाउन जिल्ला प्रशासन कार्यालय डडेलधुरबाट गरिएको पत्राचारप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको उल्लेख गरेका छन्। प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनासो भए कानूनी उपचारमा जान सकिने वा प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने प्रचलित प्रावधान रहेको ध्यानाकर्षण गर्दै महासंघले प्रमुख जिल्ला अधिकारी जस्तो जिम्मेवार व्यक्तिबाट पदीय मर्यादाविपरीत गरिएको हर्कत अन्यन्त निन्दनीय भएको भनेको छ।
सञ्चारमाध्यमको संवैधानिक अधिकारको ख्याल गर्न र यस्ता घटना नदोहो¥याउन महासंघ सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ। १६ पुसमा सिमाना अनलाइन र महेन्द्रनगरपोष्टमा प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेको विषयमा समाचार प्रकाशित भएको थियो।
सोही समाचारलाई लिएर प्रमुख जिल्ला अधिकारी न्यौपानेले कार्यालयकै लेटरहेड प्रयोग गरी न्यूज पोर्टल च्यानलबाट समाचार हटाउन पत्राचार गर्नुका साथै पत्रकारलाई धरपकड गर्ने मौखिक धम्कीसमेत दिएका थिए।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले पनि शान्ति सुरक्षाको प्रमुख निकायलाई पत्रकारको सुरक्षामा गम्भीर बन्न आग्रह गरेको छ। महासंघका महासचिव शिवराज भट्टले विज्ञप्तिमा जारी गर्दै, ‘डडेल्धुराबाट प्रकाशन हुने सिमाना न्युज डटकममा प्रकाशित समाचारलाई लिएर डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले समाचार नै हटाउने गरि अनलाईन पोर्टललाई पठाएको पत्र प्रति नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको गम्भिर ध्यानाकर्षण भएको छ, उल्लेख गरेका छन्।
भट्टले समाचारका विषयमा चित्त नबुझे खण्डन गर्ने र त्यसमा पनि चित्त नबुझे कानूनी उपचारको बाटो खुला हुँदाहुँदै निर्देशनात्मक शैलीमा समाचार नै हटाउन पत्र पठाएर पत्रकारलाई दबाब दिनु नेपालको संविधान २०७२ ले दिएको पूर्ण प्रेस स्वतन्त्रताको हक विपरित रहेको विज्ञप्तीमा उल्लेख गरेका छन्।
यस्तै, नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अध्यक्ष हिक्मतबहादुर सिंह र सचिव भीमबहादुर खत्रीले विज्ञप्ति जारी गर्दैै पत्रकारहरुलाई धरपकड गर्नेगरि दिइएको धम्कीप्रती ध्यानाकर्षण भएको जनाएका छन्।
उनीहरुले सञ्चार माध्यमलाई न्यूजपोर्टल/च्यानलबाट समाचार हटाउन प्रमुख जिल्ला अधिकारीबाट भएको औपचारिक दवाबको यो घटनाप्रति गम्भीर हुन र आगामी दिनमा यस किसिमका कार्य नगर्न र दोहोरिन नदिन आवश्यक कदम चाल्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
र, यो पनि: डडेल्धुराका सीडीओमाथि मन्त्रीका नाममा पैसा असुलीको आरोप, के भन्छन् उनी ?