धनगढी: ‘ढोग दिया’ शब्दको दुरुपयोग भएकोप्रति देउडा संस्कृति संरक्षण प्रतिष्ठानले आपत्ति प्रकट गरेको छ।
प्रतिष्ठानका अध्यक्ष ध्रुवबहादुर सिंहले सुदूरपश्चिमको मौलिक संस्कार, भाषा-संस्कृतिलाई होच्याउने खालका गीत-सङ्गीतप्रति आपत्ति प्रकट गरेका हुन्।
प्रेस विज्ञप्ति जारी गर्दै उनले भूगोल विशेष क्षेत्र, सम्प्रदाय, जातजाति तथा समुदायसँग जोडिएको मौलिक कला संस्कृति, परम्परालाई अपमानित गर्ने खालका गीत-सङ्गीत प्रसारणमा रोक लगाउन सम्बन्धित निकायसँग माग गरेका छन्।
काली-कर्णालीको मौलिक संस्कार र सभ्यतासँग जोडिएका ओजपूर्ण शब्दहरूलाई शिष्टताको खिल्ली उडाउने र अपहेलित गराउने कार्य तत्काल बन्द हुनुपर्ने उनको भनाइ छ।
संस्कृति र परम्परालाई अपमानित गर्ने खालका सामाजिक सञ्जालमा प्रकाशन, प्रसारण हुँदै आएका अपाच्य गीत-सङ्गीत तथा विषयवस्तु प्रकाशन प्रसारण गर्ने र तयार गर्नेहरूलाई कारबाही गर्ने उनले माग गरेका छन्।
सुदूरपश्चिम प्रदेशमा मान्यजनको आदर गर्दै खुट्टामा दण्डवत् प्रणाम गरी आशीर्वाद लिने कार्यलाई ढोग दिने भनिन्छ।