कञ्चनपुर: कञ्चनपुरमा प्रहरी प्रमुख (एसपी) चक्रराज जोशी बिदामा रहेका बेला गोली प्रकरण र अपहरणजस्ता गम्भीर आपराधिक घटनाहरू सार्वजनिक भएका छन्। यी घटनाले जिल्लामा सुरक्षा व्यवस्था कमजोर भएको देखाउँदै प्रहरी प्रशासनको प्रभावकारितामाथि प्रश्न उठाएको छ।
जोशी केही दिन अगाडि नै बिदामा गएकोमा डीएसपी उमेशराज जोशीले जिल्लाको कमान्ड सम्हालिरहेका छन्। यस अगाडि पनि डीएसपी जोशीकै कमान्डिङ भएका बेला लालझाडी दम्पती हत्या प्रकरण भएको थियो। यद्यपि सो प्रकरण सुल्झिएको प्रहरीको दाबी छ। तर सो प्रकरणमा पनि हत्यामा प्रयोग भएको भनिएको हतियार अझै फेला परेको छैन।
त्यसपछि अस्तिमात्र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रवन्ध शाखामा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले आफैंमाथि गोली प्रहार गरेको घटना सार्वजनिक भएको थियो।अहिले घाइते भएको न्यौपाने उपचाररत छन्।
शुक्रबार साँझ शाखामा कोही नभएको समयमा उनले सरकारी पेस्तोल प्रयोग गरी आफैंलाई गोली हानेका थिए। उनलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको थियो। सो घटनाको कारण पनि अहिलेसम्म प्रहरीले सार्वजनिक गरेको छैन।
यस्तै कञ्चनपुरमा अपहरण तथा बन्धकको घटना पनि सार्वजनिक भएको छ। यद्यपि सो कार्यमा संलग्न भीमदत्त नगरपालिका–१६ का ३५ वर्षीय महेशसिंह खत्री र ३३ वर्षीय धुर्व जोशी पक्राउ परेका छन्। उनीहरूले १६ वर्षीया किशोरीलाई अपहरण गरी बन्धक बनाएका थिए।
पुस १३ गते राति भीमदत्त नगरपालिका–६ स्थित शिव मन्दिर नजिक नहरमा साथीसँग हिँडिरहेकी किशोरीलाई “हामी प्रहरी हौं” भन्दै दुबै व्यक्तिले अपहरण गरेका थिए।
जिल्ला प्रहरी कार्यालयका डिएसपी उमेश जोशीका अनुसार पुस १४ गते बिहान वडा नम्बर १६ वसन्तपुरबाट पीडित किशोरीको उद्दार गरिएको हो। दुबै आरोपीविरुद्ध अपहरण र शरीर बन्धकसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको छ।
जिल्लाका एसपी बिदामा रहेका बेला यस्ता गम्भीर आपराधिक घटनाहरूको सार्वजनिक हुनुले कञ्चनपुरको सुरक्षा व्यवस्थामाथि शंका उब्जाएको छ।
स्थानीयले अपराध नियन्त्रणका लागि तत्काल कदम चाल्न र अपराधीलाई कडा कारबाही गर्न माग गरेका छन्।
र, यो पनि: यी हुन् कञ्चनपुरमा आफैंलाई गोली हान्ने जवान, कोहलपुर पठाइयो
कञ्चनपुरमा प्रहरी हौं भन्दै केटीको अपहरण गरेपछि…
कञ्चनपुरमा दम्पती हत्या प्रकरण: यी हुन् अपराध स्वीकार्ने राना, हतियार नभेटेपछि अनुसन्धानमै शंका