धनगढी: कञ्चनपुरको लालझाडी गाउँपालिका–१ विनवारीको दम्पती हत्या घटनामा प्रहरीले डेढ महिनापछि पक्राउ गरेका पुरुषलाई सार्वजनिक गरिएको छ। शनिबार प्रहरीले हत्या आरोपमा पक्राउ परेका स्थानीय गंगाराम रानालाई सार्वजनिक गरिएको हो।
उनलाई अस्ति समातिएकोमा १० दिन म्याद थप गरेर अनुसन्धान पनि थालिएको छ। तर अहिलेसम्म पनि घटनामा प्रयोग भएको हतियार फेला नपरेकोले अनुसन्धान अझै संकास्पद देखिन्छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार आरोपितले प्रहरी, सरकारी वकिलको कार्यालय र अदालतमा हत्या स्वीकार भने गरेका छन्। यद्यपि उनले घटनामा प्रयोग भएको हतियार देखाउन सकेका छैनन्।
सोही कारण उनलाई बुधबार प्रहरीले पक्राउ परेकोमा बिहीबार अदाललबाट १० दिन म्याद थपेर विस्तृत अनुसन्धान भइरहेको छ।
कार्तिक ८ गते राति विनवारीका ४६ वर्षीया रमेश बडायक र उनकी पत्नी ४३ वर्षीया कमला बडायकको हत्या भएको थियो। अर्को दिन बिहान उनीहरुको घरमै शव भेटिएको थियो।
विनवारीको संयुक्त घरबाट दम्पती करिब दुई किलोमिटरको दूरीको घरमा बस्थे। उनीहरुले त्यहाँ मदिरा र मासु पसल पनि सञ्चालन गर्थे।
बीभत्स तरिकाले हत्या गरिनुअघि बडायक दम्पतीले केही दिनअघि बैंकबाट साटेको २ लाख ४३ हजार भने घरमै भेटिएको थियो।
बडायक दम्पती हत्यामा पक्राउ परेका रानाको पसल नजिकै घर रहेको डीएसपी जोशीले बताए। रानाले प्रहरीसमक्ष दिएको बयान अनुसार कार्तिक ८ गते उनले अन्यत्रै मदिरा सेवन गरेका थिए। राति करिब ११/१२ बजेतिर फेरि मदिराका लागि बडायक कहाँ पुगे। तर बडायकले मदिरा दिएनन्।
सोही क्रममा विवाद भएपछि रानाले चिर्पटले हानेर दम्पतीको हत्या गरेको बताएका छन्।रानाले मदिरा सेवन गरेर राना राति हिँड्ने गरेका थिए। उनलाई प्रहरीले यसअघि पनि सोधपुछ गरेको थियो। तर उनले घटनास्थलमा आफू नगएको बताए। त्यो राति कहाँ थियो भनेर स्पष्ट बताउन पनि सकेका थिएनन्।
सोधपुछको क्रममा उनको बयानमा शंका लागेपछि प्रहरीले उनलाई निगरानीमा राखेको थियो। दोस्रो पटक सोधपुछको क्रममा रानाले अपराध स्वीकारेको प्रहरीले जनाएको छ।
रानालाई नियन्त्रणमा लिएर उनीबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएके छ। हत्यामा प्रयोग गरेको हतियार पनि खोज्ने काम भइरहेको छ।
र, यो पनि: कञ्चनपुरमा दम्पती हत्या प्रकरण: रानामाथि १० दिन म्याद थप, हतियार भेटिएन
मदिराले निम्त्याएको कञ्चनपुर दम्पती हत्या प्रकरण, कसरी मारिए रमेश र कमला ?