धनगढी – आज (शुक्रवार) सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि मतदान गर्ने कार्यक्रम थियो। तर, मतदान नै हुन नसकेपछि सभामुख चयनको प्रक्रियामा दलहरुल्व राजनैतिक झमेला झिकेका छन्। प्रदेश सभामा ७ सिटसहित प्रतिनिधित्व रहेको नागरिक उन्मुक्ति पार्टीको अड्चनका कारण सुदूरपश्चिममा सभामुख चयनको विषय गिजोलिएको बताइएको छ। शुक्रवार सभामुखको निर्वाचनमा उन्मुक्ति पार्टी सहभागी नहुने भएपछि प्रदेश सभा बैठक नै स्थगित गरिएको छ। सभामुख चयनका लागि शुक्रबार बिहान ११ बजे बोलाइएको प्रदेश सभा बैठक अर्को सूचना नआउँञ्जेलसम्मका लागि स्थगित गरिएको हो।
प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार त्यसअघि सर्वदलीय बैठकमा नागरिक उन्मुक्ति पार्टीले प्रदेश सभा बैठकमा सहभागी नहुने अडान लिएको थियो। सत्तासाझेदार दलले मुख्यमन्त्रीसंगै नेकपा माओवादी केन्द्रका खगराज भट्ट र एमालेकी सन्तोष कुमारी थापा (शर्मा) लाई मन्त्रीको शपथ गराएपछि नागरिक उन्मुक्ति पार्टी असन्तुष्ट बनेको छ।
सत्तारुढ गठबन्धनमा छलफल नगरेर एकलौटी हिसावले मन्त्रीको शपथ गराइएको भन्दै नागरिक उन्मुक्तिले असहमति जनाएको छ। यस्तै, यसअघि सरकारमा नजाने भन्दै आएको नागरिक उन्मुक्तिले सत्तारुढ गठबन्धनमा तीन मन्त्रालय र दुई संसदीय समिति सभापतिमा दाबी समेत गरेको छ।
यसमा लिखित सहमति नभएसम्म सभामुख निर्वाचनमा भाग नलिने उन्मुक्तिको अडान छ। बिहीबार नागरिक उन्मुक्तिका एक सांसद प्रदेश सभामा उपस्थित नहुँदा सत्तारुढ गठबन्धनका तर्फबाट माओवादीका भीमबहादुर भण्डारीले सभामुखका लागि बहुमत जुटाउन सकेका थिएनन्।
हिजोको मत विभाजनमा सत्तारुढ गठबन्धनको एक मत बदर भएको थियो भने एमालेका चक्र मल्ल बैठकमा सहभागी भएका थिएनन्। सभामुखको मत विभाजनमा भण्डारीको पक्षमा २६ र विपक्षमा २३ मत आएको थियो।
५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा बहुमतका लागि २७ सांसद आवश्यक पर्दछ। प्रदेश सभामा कांग्रेसका १९, माअोवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपा र स्वतन्त्र सांसद १र१ छन्।
पहिलो चरणमा भण्डारीले २७ मत पाएपछि दोस्रोपटक भएको मतदानमा १ मत बदर हुँदा २६ मत मात्रै पाएका थिए। दोस्रो पटक पक्षमा पनि २७ मत नआउँदा उनी सभामुख हुन पाएनन्। कांग्रेसका रावलले दुबै पटक २३ मत पाएका थिए।
सुरुको दिनमा भएको निर्वाचनमा कसैले पनि बहुमत नपाएपछि के गर्ने भन्ने बारे प्रदेश सभा नियमावलीमा स्पष्ट नभएका कारण बैठक स्थगित भएको हो।
कांग्रेसले पुन निर्वाचन प्रक्रियाको माग गरेको थियो। पहिलो दिन भएको निर्वाचनमा बहुमत नआएपछि फेरी सुरुबाटै निर्वाचन प्रक्रिया अघि बढाउनु पर्ने माग कांग्रेसको छ। सर्वदलीय बैठकमा सहभागी एक नेताले भने, ‘एमाले र माओवादीले त्यसको विरोध गरे, त्यसैले सहमति भने जुट्न सकेन।’
प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिन भित्र सभामुख र उपसभामुख चयन गरिसक्नु पर्ने संवैधानिक बाध्यता रहेको छ। यो समय माघ २ गते पुरा हुन्छ।
माघ २ गतेसम्म सभामुख र उपसभामुख चयन गरिसक्नु पर्छ। यता पहिलो चरणमा कसैले बहुमत नपुराउँदा के गर्ने भन्ने बारे अनिश्चित हुँदा माघ २ भित्रै सभामुख र उपसभामुख चयन गर्न समेत सकस पर्ने देखिएको छ।
सभाध्यक्ष गायब भएको आरोप !
नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सभाका सभाध्यक्ष शिवराज भट्ट सम्पर्कविहिन भएको आरोप लगाएको छ। सर्वदलीय बैठकमा शुक्रबार दिउँसो प्रदेश सभा बैठक राख्ने सहमति भएपनि सभाध्यक्ष गाय्ब भएपछि बैठक बस्न नसकेको एमालेले जनाएको छ।
शुक्रबार सभामुख चयनको प्रक्रिया अगाडि बढाउने तयारी हुँदा सभाको अध्यक्षता गरिरहेका कांग्रेस सांसद भट्ट सम्पर्कविहिन बनेको एमालेको दाबी छ। यतिमात्र होइन, सुदूरपश्चिम प्रदेश सभाका बहुमत प्रदेश सभा सदस्यहरूले तत्काल प्रदेश सभाको बैठक आह्वान गर्न पनि माग गरेका छन्। प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीलाई ध्यानाकर्षण पत्र बुझाउँदै बहुमत प्रदेश सभा सदस्यहरूले संसद् बैठक आह्वान गर्न माग गरेका हुन्। ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा २९ जना प्रदेश सभा सदस्यहरूको हस्ताक्षर सहित प्रदेश सभा सचिवालयमा ध्यानाकर्षण पत्र दर्ता गरिएको छ।
आज बिहान ११ बजे बैठक बस्ने भनिएकोमा आज दिनभर बैठक बस्न सकेन। प्रदेश सभामा ज्येष्ठ सदस्य शिवराज भट्ट बैठक अनिश्चित समय सम्मका लागि स्थगित गरेर सम्पर्क विहीन भएपछि सत्तारुढ दलका २९ जनाले तत्काल बैठक बोलाउन आह्वान गरेका हुन्। ध्यानाकर्षण पत्रमा माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसदले हस्ताक्षर गरेका छन्।
गायब छैन:भट्ट
यता, सुदूरपश्चिम प्रदेश सभाका अध्यक्ष शिवराज भट्टले आफू सम्पर्कविहीन नभएको बताएका छन्। उनले सुनियोजित तरिकाले आफ्नो दुष्प्रचार गरिएको दाबी गरे।
यस्तै उनले बैठक बोलाउने आफ्नो अधिकारभित्र रहेको कुरा भएम्ल बताउँदै कसैको इच्छाअनुसार आफू चल्न नसक्ने बताए।
पहिलो चरणमा सभामुख चयन हुननसक्दा दोस्रो चरणमा कसरी जान सकिन्छरु भनेर कानूनी परामर्श लिएको समेत उनले बताए। सोही अनुसार जेठ २ बजे बिहान ९ बजे बैठक आह्वान गर्ने सभाध्यक्ष भट्टले बताएका छन्।
त्यसअघि शनिबार(भोलि) बिहान ११ बजे सर्वदलीय बैठक पनि डाकिएको उनको भनाइ छ। नेपाली कांग्रेसका प्रदेश सभा सदस्य तथा प्रदेश सभाका सभाध्यक्ष शिवराज भट्टले भोलि (शनिवार) प्रदेश सभाको तेस्रो बैठक आह्वान गर्ने बताएका छन्।