काठमाडौँ – नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेल पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेका छन् । उनी काठमाडौँबाट आफ्नो गृहनगर पोखरा फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।
माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालका उपाध्यक्षसमेत रहेका पौडेल यसअघि तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराका प्रेस संयोजक थिए । प्रेस सेन्टरको पदाधिकारी बैठकका लागि उनी काठमाडौं आएका थिए । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसित भेट्ने कार्यक्रमसमेत रहेकोमा प्रधानमन्त्री योगा दिवसको कार्यक्रममा व्यस्त भएपछि भेट्न नपाएको बुझिएको छ ।
करिब ४ वर्षअघि विवाहित पौडेलका एक छोरा रहेका छन् । पोखराको फूलबारीमा बस्दै आएका उनी पोखरा हटलाइन दैनिकका सम्पादक छन् । कास्की प्रहरीले पत्रकार पौडेल दुर्घटनामा परेको पुष्टि गरेको छ ।
Facebook Comments Box