काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरा विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव परीक्षणलगायत स्वास्थ्य उपचारको व्यवस्था गर्न काठमाडौँ उपत्यकाका ‘हब’ अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
मन्त्रालयका सह प्रवक्ता डा। समीरकुमार अधिकारीले स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रद्वारा काठमाडौँ उपत्यकाका हब अस्पतालमा आगोले पोलेको, फोरेन्सिक जाँच र शव पहिचानका लागि सम्भावित आउने सक्ने ‘केस’ व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।
उनले प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र, हब अस्पताल तथा स्वास्थ्य सम्बन्धित निकायसँग पनि निरन्तर समन्वय गरिरहेको जानकारी दिए । मन्त्रालयले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा शव व्यवस्थापन गर्दै आएको र थप समन्वयका लागि तथा सहयोगका लागि पोखरास्थित अन्य मेडिकल कलेज र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालसँग पनि समन्वय गरिएको जनाएको छ ।
सह प्रवक्ता अधिकारीले प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रद्वारा एक प्रतिनिधि दुर्घटना स्थलमा आवश्यक समन्वयका लागि खटाइएको साथै उपचार तथा शव व्यवस्थापनका लागि हब तथा सेटेलाइट अस्पतालसँग समन्वय गरिएको बताए । आइतबार बिहान काठमाडौँबाट पोखराका लागि उडेको ७२ जना सवार यती एयरलाइन्सको विमान सेती नदीको खोचमा दुर्घटना हुँदा सवार ६८ निधन भएको पुष्टि भएको छ ।