धनगढी – धनगढी विमानस्थलमा पोखरामा भएको विमान दुर्घटनाप्रति दुख व्यक्त गर्दै दीप प्रज्वलन गरिएको छ। आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको थियो।
सो घटनामा धनगढी विमानस्थल परिवारले दुख व्यक्त गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।एयरलाइन्स परिवार, विमानस्थल प्रहरीलगायतले दीप प्रज्वलन गरेर दुख व्यक्त गरेका हुन्।
सो दुर्घटनामा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य गरी ७२ जना सवार थिए। उक्त विमान दुर्घटना भएपछि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय वासिन्दाले उद्धार गरेका थिए। विमान सेती नदीको गहिरो खोंचमा खसेकाले उद्धार कार्य निकै सकसपूर्ण बनेको थियो।
उद्धारमा खटिएका सुरक्षाकर्मीका अनुसार आइतबार साँझसम्म ६८ जनाको शव फेला परेको छ भने बाँकी ४ जनाको खोजी कार्य जारी छ। उद्धार गरिएको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। शवमध्ये हालसम्म ११ जनाको मात्रै पहिचान हुन सकेको छ।