धनगढीः प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेटमा सोमबार सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित निकालेका छन्। हिजो भएको दोस्रो खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई नौ विकेटले पराजित गरी दुई खेलमा शतप्रतिशत जित निकाल्दै चार अंकका साथ सेमिफाइनल प्रवेश गरेको छ। यही समूहबाट पहिलो दुई खेलमा जित हात पार्दै एपीएफ सेमिफाइनल प्रवेश गरिसकेको छ।
लगातार दोस्रो हारपछि गण्डकीको सेमिफाइनल यात्रा टुंगिएको छ। ६१ रनको लक्ष्य सुदूरपश्चिमले ११ ओभरमा एक विकेट गुमाउँदै भेटायो। कप्तान बिन्दु रावलले ४३ बलमा आठ चौका मद्दतमा अविजित ४६ रन बनाइन्। सोभा रोकाया ८ रनमा अविजित रहिन्। गण्डकीबाट एकमात्र विकेट निरुता जीटीले लिइन्।
यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकीले निर्धारित २० ओभरमा नौ विकेट ग्मुाउँदै ६० रन बनाएको थियो सिमान केसीले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन्। सुदूरपश्चिमकी मनीषा चौधरीले ४ तथा स्नेहा महरा र ईश्वरी विष्टले समान एक विकेट लिए।
दुई खेलमा शतप्रतिशत जित निकालेको प्रदेश १ चार अंकसहित समूह ‘बी’ को शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको लुम्बिनीको दुई अंक रहेको छ । समान अंक भएको मधेस प्रदेश रनरेटका आधारमा तेस्रो स्थानमा छ । कर्णालीले दुवै खेल हारेको छ ।