काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई बधाई दिएका छन्। डा.रुइतले अन्धोपन निवारणमा गरेको कल्याणकारी कामका लागि बहराइनको प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेकामा सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन्।
राज्यसँग डा. रुइतले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिने जनाउँदै प्रधानमन्त्रीले लेखेका छन्, ‘वरिष्ठ नेत्र चिकित्सक डा.सन्दुक रुइतले प्रतिष्ठित इसा अवार्ड प्राप्त गर्नुभएकोमा हार्दिक बधाइ ज्ञापन गर्दछु। मानव कल्याणको क्षेत्रमा उहाँको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय छ। राज्यसँग उहाँले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनेछ।’
अन्धोपन निवारणमा गरेको कल्याणकारी कामका लागि डा। रुइतले बहराइनको प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका छन् । यसको नगद राशि १० लाख डलर (झन्डै १३ करोड ८ लाख रुपैयाँ) छ ।
बहराइनको यो अवार्ड त्यहाँका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा सन् २००९ मा स्थापना गरिएको हो। मानव कल्याणको क्षेत्रमा सक्रिय व्यक्ति वा संस्थालाई हरेक दुई वर्षमा प्रदान गरिँदै आएको छ।