काठमाडौँ – नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले वर्तमान प्रतिनिधिसभामा दलहरूलाई मिलेर अघि बढ्न जनताको ‘म्यान्डेट’ रहेको बताएका छन् ।
संविधानसभामा मिलेर संविधान जारी गरेका र मिलेर नै लोकतान्त्रिक गणतन्त्रको आन्दोलन सफल पारेको भन्दै जनमतले दलहरूलाई अहिले पनि मिलेर अघि बढ्ने गरी सन्देश आएको बताए ।
उनले सबै मिलेर ल्याएको संविधान मिलेर नै अघि बढाउनुपर्ने भन्दै सबै दल एक ठाउँमा उभिनुपर्ने आवश्यकता अहिले पनि रहेको बताए ।
नेम्वाङले भने, ‘म नकारात्मक कुरा गर्दिनँ । कमीकमजोरीका बाबजुद हामी लक्ष्यमा पुग्छौँ । हिजोको अनुभवलाई आधार बनाएर आज पनि राष्ट्रिय मुद्दाहरूमा सहकार्य गर्दै अघि बढ्न सक्षम हुनेछौँ भन्नेमा म विश्वस्त छु ।’
संविधानसभाको अध्यक्ष समेत रहेका पूर्व सभामुख नेम्वाङले नेकपा (एमाले)ले गरेको सबै गतिविधिमा सहभागी भएका देवराज घिमिरेलाई सभामुखमा निर्वाचित गर्न आह्वान गरे ।
उनले भने, ‘निरंकुशताविरुद्धको आन्दोलनदेखि पूर्वका पहाडी जिल्लाका जनजाति आन्दोलनसँग जुध्ने र वार्ता गर्ने भूमिकाबाट आउनुभएको व्यक्ति देवराज घिमिरे हो । एमालेले लिएका प्रत्येक काममा उहाँ संलग्न हुनुहुन्छ । ०५६ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएर क्रियाशील हुनुभएको हो । यस पटक झापा–२ का जनताको समर्थन लिएर हामीसमक्ष यो सदनमा आइपुग्नुभएको छ । यो प्रतिनिधिसभामा रहेका सम्पूर्ण राजनीतिक दलहरूको विश्वासलाई समेटेर यो संसद्को निष्पक्ष रेफ्रिका भूमिका खेल्नुहुनेछ भनेर म विश्वस्त छु । त्यसैले उहाँलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव राख्न चाहन्छु । सिङ्गो प्रतिनिधिसभालाई सहयोग र समर्थन गर्न आग्रह गर्दछु ।’