काठमाडौँ – प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन माघ ७ गते हुने भएको छ । सभामुख पदममा सत्ता गठबन्धनका देवराज घिमिरे निर्वाचित भएसँगै उपसभामुख पदको निर्वाचन कार्यक्रम सार्वजनिक गर्न प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले निर्देशन दिएका हुन् ।
जबराले प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई बिहीबार नै उपसभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएका हुन् । उपसभामुख सत्तारूढ गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने सहमति भएको बताइएको छ ।
बिहीबारको बैठकले सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेलाई निर्वाचित गरेको छ । उनको पक्षमा १६७ मत आएको छ भने कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले १०० मत प्राप्त गरिन् । नेमकिपाका प्रेम सुवालले घिमिरेकाे पक्ष र विपक्षमा मत नदिई तटस्थमा मतदान गरेका थिए । सभामुखका लागि मतदानमा २६८ सांसद सहभागी थिए ।