धनगढीः प्रस्ताव अस्वीकृत भएपछि सिभिल मलमा एक युवाले आत्मदाहको प्रयास गरेको खुलेको छ। बिहीबार बिहान ११ः५५ मा सुन्धरास्थित मलको भुइँतलामा २९ वर्षीय बिसन गुरुङले शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए।
प्रहरीका अनुसार गुरुङ केही महिनायता एक युवतीसँग प्रेममा थिए। युवती मलस्थित सपिङ सेन्टरमा काम गर्थिन्। अस्वाभाविक व्यवहार देखाएपछि युवती गुरुङसँग टाढा हुने कोसिसमा थिइन्। यस क्रममा गुरुङले युवतीलाई नियमित पछ्याउने, टेलिफोन गर्ने, धम्क्याउनेलगायतका गतिविधि गर्दै आएका थिए।
आजित बनेकी युवतीले पछिल्ला दिन उनलाई वास्ता गर्न छाडेकी थिइन्। यही क्रममा उनी बिहीबार बिहान बोतलमा पेट्रोल लिएर मल पुगेका थिए। युवतीले भेट्न नमानेपछि उनी सरासर मलको भुइँतलामा पुगे र बोतलको पेट्रोल शरीरमा खन्याई आगो लगाएका थिए।
प्रहरीका उनलाई मलका सुरक्षा गार्डले उद्धार गरेका थिए। मलको भुइँतलामा आगोमा दन्किरहेको युवक देखेपछि सुरक्षा गार्ड उद्धारमा खटिएका थिए। उनलाई उपचारका लागि तत्काल ट्रमा सेन्टर पठाइएको थियो।
ट्रमामा उपचार सम्भव नभएपछि उनलाई कीर्तिपुर मोडेल अस्पतालमा रिफर गरिएको थियो। प्रहरीका अनुसार उनको शरीर तथा अनुहारका विभिन्न भाग जलेका छन्। उपचाररत उनको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।
घटना सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी निदेश मैनालीले उनको उपचार भइरहेको हुँदा घटना सम्बन्धमा सोधपुछ गर्न बाँकी रहेको बताए।