काठमाडौं – सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा २६०औँ सेना दिवसका अवसरमा आयोजना गरिएको फोटो प्रतियोगितामा गैरसैनिकतर्फ संजोग बुढाथोकी प्रथम घोषित हुनुभएको छ ।
प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा उहाँलाई रु ५० हजार नगद र प्रमाणपत्र प्रदान गर्नुभयो । प्रतियोगितामा वर्षा शाह दोस्रो र राजकरण महतो तेस्रो हुनुभयो । उहाँहरुले क्रमशः जनही रु ३५ हजार र २५ हजार प्राप्त गर्नुभयो ।
प्रतियोगितामा राष्ट्रिय समाचार समितिका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठले रु १० राशिसहित सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो । उक्त प्रतियोगितामा पुरस्कारका लागि १६ वटा तस्बिर छनोट भएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रतियोगितामा पुरस्कारका लागि छनोट भएका अन्य प्रतियोगीलाई बलाधिकृत रथी सरोजप्रताप राणाले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । प्रतियोगितामा सैनिकतर्फ १४ नं बाहिनी प्रथम, विकास निर्माण निर्देशनालय द्वितीय र दुर्गा बक्स गण तृतीय घोषित भए । सैनिक, गैरसैनिक र व्यवसायीबाट उक्त प्रतियोगितामा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा सैनिकतर्फ एक हजार पाँच सय र गैरसैनिकतर्फ एक सय ४५ वटा तस्बिर प्राप्त भएको बताइएको थियो । सोही समारोहमा प्रधानसेनापति शर्माले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आयोजित चार दिने फोटो तथा युनिट विशेष प्रदर्शनीको उद्घाटन पनि गर्नुभएको थियो ।
प्रदर्शनीमा नेपाली सेनाको गैरवमय इतिहास, जिम्मेवारी, हातहतियार, उपकारण, पोसाकलगायत विभिन्न विधा समेटिएको छ । सेनाको इतिहासदेखि वर्तमानसम्म एउटै थलोबाट सबैलाई जानकारी होस् भन्ने हेतुले प्रदर्शनी आयोजना गरिएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताउनुभयो । नेपाली सेनाले आफ्नो स्थापना दिवसको अवसर पारेर पछिल्ला वर्षमा यस प्रकारका प्रदर्शनी गर्दै आएको छ । नेपाली सेनाले हरेक वर्ष महाशिवरात्रिका दिन आफ्नो स्थापना दिवस मनाउँदै आएको छ । यस वर्ष महाशिवरात्रि आगामी फागुन ६ गते परेको छ ।