धनगढीः कैलालीमा भारतबाट अवैध रुपमा भित्र्याइरहेका चिनीसहितका विभिन्न सामान प्रहरीले बरामद गरेको छ। जिल्लाका विभिन्न स्थानबाट भारतबाट अवैध रुपमा भ्त्र्यिाएका समान बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले धनगढी उपमहानगरपालिका–२ को त्रिनगर भन्सारबाट दुई क्वीन्टल चिनी, १२ वटा ब्याट्री, प्लाष्टिकको झिल्ली लगायतका अवैध सामान बरामद गरिएको जानकारी दिए।
उनकाअनुसार धनगढी उपमहानगरपालिका–१ को त्रिवेणी घाटबाट स्थानीय २४ वर्षीय बिशाल थापाले चलाएको से १ प ४१४३ नम्बरको स्कुटीमा भारतबाट ल्याउदै गरेको अवस्थामा खुर्सानी लगायतका सामान पनि बरामद गरिएको छ। टीकापुर नगरपालिका–८ को झुंगास्थित भित्री सडक खण्डमा ३५ प्याकेट सुर्ती, बिडी, चकलेट पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
भजनी नगरपालिका ७ को हिम्मतपुरस्थित हुलाकी सडक खण्डमा सोही ठाउँका कल्लु चौधरीले भारतबाट अवैध रुपमा ल्याउदै गरेका दुई राँगा र कैलारी गाउपालिका ५ पुरानो मलिका टोलमा सोमै चौधरी र भजनी नगरपालिका ३ बस्ने जाहिर अलीले भजनीबाट हसुलिया तर्फ ल्यादै गरेका दुई राँगा पनि नियन्त्रणमा लिइएको छ।
बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि सम्बन्धीत भन्सार कार्यालयको जिम्मा लगाइएको प्रहरी निरीक्षक साउदले जानकारी दिए।