धनगढीः नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका केन्द्रिय अध्यक्ष भिमज्वाला राइले नेपाल सरकार यातायात मजदूरका सवालमा संवेदनशील हुनुपर्ने बताएका छन्। नेपाल यातायात स्वतन्त्र मजदूर संगठन सुदूरपश्चिम प्रदेशको दोश्रो अधिवेशनमा बोल्दै राइले यस्तो बताएका हुन्।
यस्तै उनले ट्राफिक प्रहरीले सवारी चालकहरुलाई दुख दिने मात्रै काम गरेको पनि बताएका छन्। उनले भने, “यातायात व्यवस्था ऐनअनुसार सबै सवारी चालकहरुले चल्नुपर्छ। हाम्रो संगठनले पनि सवारी चालक साथीहरुलाई ऐन कार्यान्वयनका लागि आग्रह गरिरहेको छ, तर सवारी चालकले ऐन कार्यान्वयन गर्ने अनि ट्राफिक प्रहरीले ऐनविपरित पैँसा असुल्ने र जरिवाना काट्ने काम गरिरहेको छ, यो हामीलाई मान्य छैन।” ट्राफिक प्रहरीलाइ राज्यले गम्भीरताका साथ लिनुपर्ने उनको भनाइ छ।
यातायात मजदूरहरुले मजदुरी गरेर जीवन चलाउने कुरासँग जोडिएका धेरै समस्या भएकाले सरकारले ती कुरा समाधानमा ध्यान पुगाउनुपर्ने उनको जिकिर छ। “संघ सरकार प्रदेश सरकार या स्थानीय सरकार यातायातका क्षेत्रमा कुनै संवेदनशील देखिदैनन्। बरु यातायात मजदूरहरुलाई दुख दिने मात्रै काम गरेका छन्, जहाँज दुर्घटना हुँदा छानबिन समिति बन्छन्, तर गाडी दुर्घटना हुँदा चालकलाई दोषी देखाउँदै प्रहरीले जेल कोच्ने काम गर्छ। त्यसको वास्तविकता कहिल्यै बाहिर आउँदैन”, उनले भने।
त्यस्तै उनले सामाजिक सुरक्षा ऐन ल्याइएकोमा त्यसको स्वागत गरे। उनले भने, “ऐन कार्यान्वयन हुनुपर्छ, हुँदैन भने यातायात मजदूर जहिले असुरक्षित र अपहेलित मात्रै भयौँ त्यसकारण अब हामीले आन्दोलन गर्नुपर्ने जरुरी देखिन्छ।” अब सबै यातायात मजदूरका समस्या सम्बोधनका लागि गठनले आन्दोलनको नेतृत्व गर्ने र त्यसमा सबै यातायात मजदूरहरुले हातेमालो गर्न जरुरी रहेको उनको भनाइ छ।