धनगढीः भ्रष्टाचार अभियोग लागेका नायव सुब्बा देवीबहादुर थापालाई विशेष अदालतले सफाइ दिएको छ। न्यायाधीशत्रय रमेशकुमार पोखरेल, शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले हिजो दाबी नपुग्ने भन्दै यस्तो फैसला सुनाएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाखमा थापाले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा विशेषमा मुद्दा दायर गरेको थियो। भन्सार जाँचपास परीक्षण कार्यालय, तीनकुनेमा नासु पदमा कार्यरत थापामाथि १ करोड ८७ लाख ४७ हजार रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति कमाएर भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो।
अनुसन्धानका क्रममा थापाले उक्त सम्पत्ति आफूसहित बाबु कृष्णबहादुर र आमा चन्द्रमाया थापाका साथै श्रीमती विमसा राउतका नाममा राखेको देखिएपछि जफत प्रयोजनका लागि उनीहरूलाई पनि विपक्षी बनाइएको थियो। तर, अदालतले ती सबैलाई सफाइ दिएको छ।
नायव सुब्बा थापा २०५६ साउनदेखि सरकारी सेवामा प्रवेश गरेका हुन्।