धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले क्रिकेट सुदूरपश्चिमको पहिचान बन्दै गएको र यस खेलको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।
शनिबारदेखि महेन्द्रनगरमा स्टार प्रोडक्सनको आयोजनामा सुरु भएको कर्पोरेट क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री रावलले यो प्रतियोगिताबाट उत्कृष्ट खेलाडी उत्पादनमा योगदान पुग्ने बताए।
‘सुदूरपश्चिम क्रिकेटका स्टार खेलाडी उत्पादन गर्ने थलो हो,’ उनले भने, ‘प्रदेश सरकार खेलकुद र खेलाडीको विकासका लागि गम्भीर छ।’ मुख्यमन्त्री रावलले जिल्ला स्तरका मात्रै नभएर प्रदेश र राष्ट्रिय स्तरका प्रतियोगिता आयोजनाका लागि पनि अघि सर्न आयोजकलाई सुझाव दिए।
यसका लागि प्रदेश सरकार पनि सहयोग गर्न तयार रहेको उनको भनाई थियो। मुख्यमन्त्री रावलले ब्याटिङ गरेर प्रतियोगिताको शुभारम्भ गरेका थिए। मन्त्र हस्पिटल मुख्य प्रायोजक रहेको कर्पोरेट प्रतियोगितामा १२ वटा टीमको सहभागिता रहेको छ।
चौथोे सिजन अन्तर्गत सञ्चालन भइरहेको उक्त प्रतियोगिता हरेक शनिबार बिदाका दिन मात्रै खेलाइनेछ। प्रतियोगिताको विजेता टीमले १ लाख ११ हजार र उप विजेता टिमले ५५ हजार रुपैयाँ पुरस्कार पाउनेछ। फागुन ३ मा प्रतियोगिताको समापन गरिनेछ।