अस्ट्रेलिया — मेलबर्नमा आयोजित एन्मेक रोयल कप फुटबलको उपाधि रोयल वेस्टर्न फुटबल क्लबले जितेको छ । रोयलले यती फुटबल क्लब (रातो) लाई १–० ले हराउँदै उपाधि जितेको हो ।
भिक्टोरिया राज्यमा रहेका १५ फुटबल टिमले प्रतिस्पर्धा गरेको प्रतियोगिता विजेताले ४ हजार ५ सय डलर र ट्रफी जित्यो । एकमात्र गोल हेमन गुरुङले गरेका थिए । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलमा त्यही गोल नै निर्णायक भयो । २३ औं मिनेटमा रोयलका डिफेन्डर अनुप गुरुङ रातो कार्ड पाएर बाहिरिनुपरे पनि टोलीले खेल नियन्त्रणमा राखेर खेलेको थियो । उत्कृष्ट खेलाडीको उपाधि विजेताका हेमन गुरुङले जिते । रोयलकै गोलकिपर रोहित कार्की उत्कृष्ट गोलकिपर भए भने युनाइटेड फुटबल क्लबका दर्शन गुरुङले उच्च गोलकर्ता भए । उत्कृष्ट खेलाडीले नगद पुरस्कार पाए ।
अस्ट्रेलियन माइग्रेसन एन्ड एजुकेसन कन्सल्टेन्सीको प्रायोजन तथा रोयल वेस्टर्न क्लबको आयोजनामा मेलबर्नको डेराबिन स्टेडियममा भएको थियो । आयोजक क्लबका प्रशिक्षक सन्जीव थापामगरले फुटबलको माध्यमबाट सीप र क्षमताका युवालाई अवसर सिर्जना गर्ने र समाजमा भाइचारा कायम गर्ने उद्देश्यले प्रतियोगिता गरिएको बताए । उनले नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका राष्ट्रिय खेलाडी सहभागी भएकाले प्रतिस्पर्धा रोचक बनेको सुनाए ।