धनगढीः कुमारी आमा भनेर चिनिएकी निहारिका राजपुतलाई शिवराज श्रेष्ठले श्रीमती स्वीकार गरेकी छन् । आफूले न्याय पाउनुपर्ने माग राख्दै लामो समय राजधानीको माइतीघर मण्डलामा आन्दोलनरत निहारिका र उनका छोरालाई शिवराजले स्वीकार गरेका हुन् ।
शिवराज र निहारिकाबीच धनुषा जिल्ला अदालतमा मिलापत्र भएको छ । धनुषाका क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ३ घर भएका शिवराजले आफूलाई १७ वर्ष हुँदा नशालु पदार्थ खुवाई बलात्कार गरेको आरोप लगाउँदै आएकी निहारिकाले अन्ततः प्रेम विवाह भएको स्वीकारेकी छन् । जगतबहादुर श्रेष्ठ र राधाकुमारी श्रेष्ठ आफ्नो सासुससुरा भएको उल्लेख गर्दै उनले शिवराजको झैझगडा गर्ने व्यवहारले आजित भएर छुट्टिएको बताएकी छन् ।
मिलापत्रमा भनिएको छ, ‘जाँडरक्सी सेवन गरी तथानाम गाली गर्दै कुटपिटसमेत गर्न लागेको कारण निजसँग बस्नुभन्दा अंश लिई अलग बस्नु नै श्रेयस्कर सम्झी मूल अंशियार चार जना भएकाले लोग्नेको अंश चार भागको एक भाग हुने भएकाले एक भागलाई तीन भागमा विभक्त गरी परेको अघिल्लो मितिलाई मानी छुट्टिएको मिति कायम गरी अंश दिलाई पाऊँ भनिसमेत गरेको फिरादपत्र ।’
यता, शिवराजले निहारिका र नाबालक छोरालाई इज्जतका साथ खान, लाउन, औषधोपचार खर्च, छोराको पढाइलेखाई खर्च तथा पिता र पति भएको कर्तव्य निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । महोत्तरीकी निहारिका आफूलाई न्याय दिनुपर्ने माग गर्दै गत असारमा आमरण अनशन बसेकी थिइन् ।