धनगढीः कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बोल्ने भन्दा पनि काम गरेर देखाउने विश्वास दिलाएका छन्। हालै कैलालीको प्रजिअ भएर आएका कटेलले आफ्नो पदीय दायित्व र जिम्मेवारी पूरा गर्ने गरी अघि बढ्ने बताउदै उत्कृष्ट काम गर्नमा ध्यान दिने उल्लेख गरेका छन्। बुधबार कैलालीमा क्रियाशिल पत्रकारसँगको परिचयात्मक कार्यक्रममा बोल्दै कटेलले आफूलाई कामको डर भएको बताए।
कटेलले आफ्ना लागी कामनै महत्वपुर्ण भएका कारण नतिजा देखाउने गरी लाग्ने बताउदै भने, “म वडादेखी काम शुरु गर्छु, वडाले सिफारिश गरेको नागरिकता हामीले बनाउनुपर्ने हुन्छ, त्यहाँ कसरी सिफारिश भइरहेका छन् र कमीकमजोरी छन् भने तिनलाई सच्याउन लाउँछु, मालपोत, नापी कार्यालयहरुको सेवा प्रबाह म बुझ्छु के छ अवस्था के सुधार गर्नुपर्ने छ त्यता तिर लाग्ने छु।”
उनले अहिले नै आफू यस्तो गर्छु भनेर आश्वासन नदिने बताए।