एजेन्सीः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोदोको व्यापक प्रचार गर्ने र कोदो किसानको भूमिकालाई सर्वोत्कृष्ट रुपमा लिनुपर्ने बताएका छन्। उनले भारतका अन्य राज्यमा भन्दा उडिसामा कोदोको खेती व्यापक हुन थालेको भन्दै त्यहाँका किसानको प्रयासको मुक्त कण्ठले प्रशंसा गरेका छन्।
प्रधानमन्त्री मोदीले सुन्दरगढ आदिवासी जिल्लामा लगभग १५ सय महिलाको स्व–सहायता समूहले गरिरहेको कामको बारेमा थप विवरण दिँदै भनेका छन्,‘ती सबै उडिसा मिलेट मिसनसँग सम्बन्धित छन्। महिलाहरूले कोदोको चकलेट,रसभरि, लालमोहन,केकलगायत धैरै परिकार बनाउँछन्। बजारमा त्यस्ता उत्पादनको माग धेरै भएकाले महिलाको आम्दानीसमेत बढेको छ।’
उता कर्नाटकको बिदर जिल्लामा पनि हुल्सुर कोदो उत्पादक कम्पनीसँग आवध्द महिलाहरूले कोदो खेती गरेका छन्। उनीहरुले पीठो तयार गर्छन् र अन्यको तुलनामा आम्दानी मनग्गे गरेको देखिन्छ। छत्तिसगढको सन्दीप शर्माको किसान उत्पादक संस्थासँग १२ राज्यका किसानले हात मिलाएको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्रीले भनेका छन्,‘विलासपुरको उक्त कृषक उत्पादक संस्थाले आठ प्रकारका कोदोको पिठो र खाद्यान्न उत्पादन गर्छ।’
मोदीले भारतमा हुन लागेको जी–२० शिखर सम्मेलनसँग सम्बन्धित कार्यक्रममा कोदोका पौष्टिक र स्वादिष्ट परिकार समावेश गरिने जानकारी गराएका छन्। विशेषगरी कोदोको खिचडी,पुवा,खीर,रोटीका साथै पुरी,डोसाजस्ता परिकार पनि राखिने जानकारी दिइएको छ। उनले योग र कोदो दुवै स्वास्थ्यसँग सम्बन्धित रहेको बताएका छन्। मानिसले योग र तन्दुरुस्तीलाई अंगालेझैं कोदो पनि जनतामाझ लोकप्रिय खाद्यान्न बन्दै गएकोमा प्रधानमन्त्री मोदी खुशी देखिएको बताइन्छ।
गत वर्ष,संयुक्त राष्ट्र संघले भारत सरकारको प्रस्तावपछि २०२३ लाई अन्तर्राष्ट्रिय कोदो वर्ष घोषणा गरेको छ। उक्त प्रस्तावमा विश्वका ७२ राष्ट्रले नरेन्द्र मोदी नेतृत्वको सरकारलाई समर्थन दिएको थियो। जी २० आगामी सम्मेलन भारतको राजधानी नयाँ दिल्लीमा २०२३ सेप्टेम्बर ९ मा हुँदैछ।