काठमाडौँ – नेपाली कांग्रेसको संसदीय दलको कार्य समिति बैठकले राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनका लागि अन्य राजनीतिक दलहरूसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय गरेको छ।
बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले नेपाली कांग्रेस संसदीय दलको बैठक माघ २६ गते १ बजे संसद भवनको ल्होत्से हलमा बस्ने निर्णय गरेको बताए।
उनले संसद भित्रको व्यस्तताका कारण केन्द्रीय कार्य सम्पादन समितिको बैठक केही समयका लागि सरेको बताए। उनले राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन र राष्ट्रपतिको निर्वाचनका बारेमा अरू राजनीतिक दलहरुसँग छलफलका क्रममा कांग्रेस रहेको बताए।
‘नेपाली कांग्रेस संसदीय दलको कार्य समितिको बैठक बस्यो। बैठकमा राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनको बारेमा अन्य राजनीतिक दलहरुसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय गरेका छौं,’ उनले भने, ‘अर्को नेपाली कांग्रेस संसदीय दलको बैठक यही माघ २६ गते १ बजे संसद भवनको ल्होत्से हलमा बस्ने निर्णय गरेका छौं र संसद भित्र व्यस्तता भएकाले केन्द्रीय कार्य सम्पादन समितिको बैठक केही समयका लागि सरेको छ।’
प्रमुख सचेतक लेखकले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति/उपराष्ट्रपति र सभामुख/उपसभामुखमा राष्ट्रिय सहमति खोजेकाले सोहीअनुसार वार्ताका लागि बोलाए काँग्रेस प्रधानमन्त्रीसँग वार्ता गर्न तयार रहेको पनि बताए। उनले प्रधानमन्त्री सर्वदलीय बैठकमा समेत राष्ट्रिय सहमति खोजेकाले प्रधानमन्त्रीको प्रस्ताव र एजेण्डा बाहिरिएपछि कांग्रेस छलफलका लागि जाने बताए।
‘प्रधानमन्त्रीजीले राष्ट्रिय सहमति भनिरहनुभएको छ। उहाँले सर्वदलीय बैठकमा पनि भन्नुभएको थियो। हामी सहमति गरेर जाने कुराको बारेमा छलफल गरेर जान तयार छौं। उहाँको प्रस्ताव, एजेन्डा के हो भन्नेबारे सोचिरहनुभएको छ होला, हामी छलफलका लागि तयार छौं, आफैं पनि राष्ट्रपतिको निर्वाचनका लागि तयारी गरिरहेका छौं,’ उनले भने।
प्रमुख सचेतक लेखकले नेपाली कांग्रेस राष्ट्रपतिको निर्वाचनका लागि आन्तरिक तयारीमा जुटिसकेको बताए।