काठमाडौँ: रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।
पार्टीका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले भने, ‘बैठक आजै साँझसम्ममा बस्छ ।’ रास्वपाले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई २४ घण्टाभित्र गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको थियो । तर, अल्टिमेटम दिएको ७२ घण्टा बितिसक्दा पनि उसले ठोसरूपमा केही निर्णय गरेको छैन । यसैबीच रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएको हो ।
नागरिकता विवाद सम्बन्धमा परेको मुद्दामाथि सुनुवाइ गर्दै सर्वोच्च अदालले गत माघ १३ गते पार्टी सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेसँगै रिक्त रहेको गृहमा पुन: उनै फर्किने जोड गरिरहेका छन् । तर, प्रधानमन्त्री प्रचण्डले भने पुन: रविलाई गृह फर्काउनु सर्वोच्च अदालतको मानहानि गर्नु भएको बताएका छन् ।
यसपछि कसरी अगाडि बढ्ने भन्नेबारे छलफल र निर्णय गर्न रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको प्रवक्ता ढकाल बताउँछन् । ‘बैठकको एजेन्डामा मूलत: सरकार नै हो,’ उनले भने, ‘यथास्थितिबाट कसरी अगाडि जाने भन्नेबारे छलफल हुन्छ र आवश्यक निर्णय लिइन्छ ।’ प्रवक्ता ढकालकाअनुसार आजको बैठकमा सरकारबाट बाहिरिनेबारे छलफल हुनेछ ।