काठमाडौं – तीन दिने नेपाल भ्रमणका लागि आएका मलेसियाका गृह मन्त्री सैफुदिन नासुसन र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल नेतृत्वको नेपाली टोलीसँग औपचारिक भेटवार्ता सुरू भएको छ।
सोल्टी होटेलमा सुरू भएको वार्तामा भेटवार्तामा श्रम सम्झौता कार्यान्वयनलगायतका महत्त्वपूर्ण विषयमा छलफल हुनेछ।
नेपाल र मलेसियाबीच २०७५ कात्तिक ११ गते श्रम सम्झौता भएको थियो।
नेपालले मलेसियाली मन्त्रीसँग सम्झौता कार्यान्वयनसँगै कामदारको सामाजिक सुरक्षा, तलब सुविधा, उपचारको प्रबन्धलगायत विषयमा पनि छलफल गर्नेछ।
यस्तै नेपालले शून्य लागतमा कामदार मलेसिया जान पाउने वातावरण सुनिश्चितताका लागि पहल गर्ने पनि बताइएको छ।
बिहिबार काठमाडौं आएका मन्त्री नासुसनले आजैबाट उच्चस्तरीय राजनीतिक भेटघाट सुरू गरेका हुन्।
नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रपति विद्यादेवी भण्डारीलगायतलाई भेट्ने कार्यक्रम रहेको छ।