धनगढी – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका राजेन्द्रसिंह रावलले आजै सरकारी आवास पनि छाडेका छन्।
प्रदेश सभामा सम्बोधनपछि राजीनामा बुझाउन सरकारी सवारीमै प्रदेश प्रमुख कार्यालय पुगेका रावल राजीनामा बुझाएर निजी गाडीमा सरकारी निवास फर्किएका थिए। सरकारी निवासबाट उनी अझै महेन्द्रनगर स्थित आफ्नो निजी निवासमा लागेका छन्।
एमाले माओवादी नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावलले आज विश्वासको मत लिन संसदमा सम्बोधन गरेका थिए। आजको बैठकमा नागरिक उन्मुक्तिका ७ सांसद सहभागी थिएनन्।
विश्वासको मत लिने प्रस्तावलाई बहुमत सदस्यहरूले अस्वीकार गरे पछि विश्वासको मत नलिएरै रावल मुख्यमन्त्रीबाट पदमुक्त भएका थिए। आजै प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ को उपधरा ३ अनुसार सबै भन्दा ठुलो दलको हैसियतले कांग्रेस संसदीय दलका नेता कमल शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरिसकेका छन्।