काठमाडौं – नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिमबाट कांग्रेसले सत्ता यात्रा सुरु गरेको छ। सत्ता बाहिर रहेको डेढ महिनामै कांग्रेसले सत्तामा ‘कमब्याक’ गरेको हो।
सत्तारुढ गठबन्धनको प्रमुख घटक नेकपा एमाले नेतृत्वको सुदूरपश्चिम सरकार विश्वासको मत नपाएर एक महिनामै ढलेपछि एमाले देउवाको प्रदेशको नेतृत्वबाट बहिर्गमन परेको हो।
मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई समर्थन गरेको सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिँदा एमाले नेतृत्वको सुदूरपश्चिम सरकार ढलेको हो ।
एमाले नेतृत्वको सरकार ढलेसँगै संविधानको धारा १६८(३) बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाह मुख्यमन्त्री नियुक्त भएका छन्। उनले पनि एक महिनाभित्र विश्वासको मत लिइसक्नु पर्ने हुन्छ।
नागरिक उन्मुक्तिले कांग्रेसलाई समर्थन नगरेर अहिलेकै सत्ता समीकरण यथावत् रहेमा शाहले पनि विश्वासको मत पाउने अवस्था छैन। ५२ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउनका लागि २७ जनाको समर्थन आवश्यक पर्दछ।
नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपा र स्वतन्त्र एकरएक सांसद छन्।