सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगितामा सुदूरपश्चिम–११ क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बिहीबार सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा सुदूरपश्चिमले पाहुना टोली युनाइटेड कुर्सेङ फुटबल दार्जिलिङलाई २–१ ले हराउँदै अन्तिम आठको स्थान पक्का गरेको हो । खेलमा कुर्सेङले सुरुवाती अग्रता लिए पनि रक्षा गर्न सकेन । खेलको ३७औँ मिनेटमा कुर्सेङका नयन प्रधानले १–० का लागि गोल गरे ।
कुर्सेङको अग्रता तीन मिनेट मात्र रह्यो । खेलको ४०औँ मिनेटमा सुदूरपश्चिमले बराबरी गोल फर्काउन सफल भयो । सुदूरपश्चिमका लागि भरत टमाटाले १–१ को बराबरी गोल गरेका हुन् । टमाटाले कर्नरबाट प्राप्त फ्रिकिकमा सीधै गोल गरे । निर्धारित ९० मिनेट समयमा दुवै पक्षबाट थप कुनै गोल भएन । त्यसपछि खेलमा २० मिनेट थप गरिएको थियो । थप समयको पहिलो हाफको सातौँ मिनेटमा फागुराम थारूले सुदूरपश्चिमलाई २–१ को जित पक्का गराए ।
थारूले डिबक्सबाहिरबाट फ्रिकिक गोल गरेका हुन् । सुदूरपश्चिमले अब सेमिफाइनल प्रवेशका लागि चर्च ब्वाइज युनाइटेड ललितपुरको सामना गर्नेछ । १२ टोली सहभागी प्रतियोगिताका विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन् ।