काठमाडौं – नागरिक उन्मुक्ति पार्टीका नेता एवं सांसद लालवीर चौधरीले आफ्ना माग र मुद्दा सम्बोधन नभए सुदूरपश्चिम प्रदेशको नयाँ सरकारलाई पनि विश्वासको मत दिन नसक्ने बताएका छन् ।
‘हिजो हाम्रो समर्थनमा राजेन्द्रसिंह रावल सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्नुभएको थियो । उहाँहरुले थारु समुदायको नयाँ वर्षको खुसीयालीमा रेशम चौधरीलगायत सात जेलबन्दीलाई रिहा गर्छौं भन्नुभएको थियो । हामी कुरेर बस्यौं । प्रधानमन्त्री, सभामुख, उपसभामुखलाई मत दिएर जितायौं ।
तर हाम्रो माग अघि नबढेपछि बाध्य भएर रावललाई विश्वासको मत दिन सकेनौं,’ चौधरीले भने । नेपाली कांग्रेस संसदीय दलका नेता कमल शाहको नेतृत्वमा गठित नयाँ सरकारमा सामेल हुने कि नहुने भन्ने प्रश्नमा उनले भने, ‘हामीलाई अझै पनि विश्वास छ, उहाँहरुले निकास दिनुहुन्छ । निकास दिनुभएन भने कमल शाहले पनि विश्वासको मत बिलकुलै पाउनुहुन्न । हाम्रो नेता नै जेलमा छ भने हामी संघ या प्रदेशमा मन्त्री र सांसद भएर के काम हुन्छ ? फेरि पनि हामी त्यही गर्छौं ।’
उनले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालगायत कांग्रेस नेताहरुले पनि रेशम चौधरीको रिहाइका लागि पहल गर्ने आश्वासन दिएको पनि बताए । उनले भने, ‘हो, शेरबहादुर देउवाहरुले पनि हामा लागि लड्छौं, सरकारसँग भन्छौं भन्नुभएको छ । २०७२ को राजनीतिक घटनालाई व्यक्तिगत बनाएर ५८ माथि मुद्दा चलाइएको छ । ३१ जना फरार सूचीमा हुनुहुन्छ, २० जनाले सफाइ पाउनुभएको छ । सात जना जेलभित्र हुनुहुन्छ ।
अब एक महिनाभित्रै निकाल्नेभन्दा पनि हाम्रा जेलबन्दीहरुको रिहाइको ग्यारेन्टी राज्यले दिनुपर्छ । अन्यथा हामी कठोर रुपमा अघि बढ्छौं ।’नागरिक उन्मुक्ति पार्टीका माग र मुद्दा समाधान नभए कमल शाह सरकारले पनि विश्वासको मत नपाउने र निर्वाचनमा जाने चौधरीले बताए । उनले भने, ‘रेशमलगायत सात जनालाई जेलबन्दी जेलभित्र कोचिरहनुहुन्छ भने हामी कुनै पनि हालतमा विश्वासको मत दिन सक्दैनौं । चुनावमा जान पनि जनता तयार छौं। हामीलाई जनताले नै न्याय गर्ने हो । उहाँहरुले निरन्तर खबरदारी गरिरहनुभएको छ ।’ आगामी राष्ट्रपति निर्वाचनमा भने आन्तरिक रुपमा सल्लाह गरेर एक ठाउँमा उभिने चौधरीले बताए ।