चितवन – निर्वाचन आयोगले चितवन क्षेत्र नं. २ को उपनिर्वाचन आगामी वैशाख १० गते गर्ने निर्णय गरेपछि जिल्लामा सम्भावित उम्मेदवारहरुका बारेमा चर्चा सुरु भएको छ ।
गत मंसिरमा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जितेको चितवन क्षेत्र नं. २ मा यसपटक कांग्रेसबाट अहिलेसम्म ३ जना आकांक्षी देखिएका छन् ।
गत निर्वाचनमा पराजित कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले आफू पुनः उम्मेदवार बन्ने इच्छा व्यक्त गरिसकेको अवस्थामा चितवन कांग्रेसका सभापति राजेश्वर खनाल र पूर्व सभापति जितनारायण श्रेष्ठले आआफ्नो उम्मेदवारीको दावी गरेका छन् ।
कांग्रेस चितवनका पूर्व सभापति जितनारायण श्रेष्ठले क्षेत्र नं. २ को उम्मेदवारमा आफ्नो स्वभाविक दावी रहने प्रतिक्रिया दिए ।
गत मंसिरको निर्वाचनमा कांग्रेस माओवादीसहितको पाँच दलको गठवन्धनमा थिए । तर आगामी निर्वाचनमा कांग्रेसलाई माओवादीले साथ दिन सक्ने अवस्था नहुँदा कांग्रेस एक्लै प्रतिस्पर्धामा जाने अवस्था आउन सक्छ । तर, कांग्रेस जिल्लाका नेताहरुले माओवादीसँग मिलेर जानुभन्दा एक्लै लड्दा कार्यकर्तामा उर्जासँगै मत पनि बढि आउने बताउँछन् ।
संस्थापन इतरका दुबै नेता खनाल र श्रेष्ठ गत मंसिरमा भएको निर्वाचनमा आफूलाई हराउन लागेको आरोप उमेश श्रेष्ठले लगाउँदै आएका छन् ।
अहिलेको सत्ता गठवन्धनको प्रमुख घटक एमालेका महासचिव शंकर पोखरेलले केही दिन अगाडि एमालेले आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहयोग गर्न सक्ने संकेत गरेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट भने लामिछाने नै उम्मेदवार बन्ने सम्भावना छ । लामिछानेले खारेज भएको नागरिकता प्रयोग गरेर उम्मेदवार बनेको मुद्दामा सर्वोच्च अदातले फैसला गर्दा लामिछानेको गृहमन्त्रीसहित सांसद पद खारेज भएको थियो ।