काठमाडौं – महाशिवरात्रिका अवसरमा काठमाडौँ आएका जगन्नाथपुरीस्थित गोवर्द्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वतीले शनिबार पशुपतिनाथ मन्दिरअघि रहेको आद्य शंकराचार्यको मन्दिर उद्घाटन गर्ने भएका छन् ।
२०७२ साल वैशाख १२ गतेको भूकम्पले भत्किएको मन्दिर हालै पशुपति क्षेत्र विकास कोषको सक्रियतामा पुनःनिर्माण भएको हो । मन्दिर उद्घाटनपछि उहाँले प्रवचनसमेत गर्नुहुने कार्यक्रम रहेको शङ्कराचार्य मठका मठाधीश डा रमणानन्द स्वामीले राससलाई जानकारी दिए ।
कोषको निमन्त्रणमा महाशिवरात्रिमा विशिष्ट साधुका रूपमा बिहीबार राजधानी आएका शंकराचार्य निश्चलानन्द सरस्वतीले शुक्रबार बिहान पशुपतिनाथ मन्दिरमा दर्शन गरी शङ्कराचार्य मठमा प्रवचन दिएका थिए ।
प्रवचनका क्रममा वैदिक सनातन मतमा आधारित समाज निर्माणका लागि सबै लाग्नुपर्ने अवस्था आएको भ्दै शंकराचार्य निश्चलानन्द स्वामीले नेपालमा कल्याणकारी व्यवस्था हुनुपर्नेमा जोड दिए ।
नास्तिक मतका अनुयायी बढ्न थालेकाले आध्यात्मिक ज्ञानका लागि आफू नेपालमा प्रवचन गर्न आएको उल्लेख गर्दै उनले पृथ्वीको रचना भएदेखि नै वैदिक सनातन मतका आधारमा सृष्टि चलेको भनाइ राखे । आज साँझ शंकराचार्य निश्चलानन्द सरस्वतीले नेपाल–भारतमैत्री धर्मशालामा जिज्ञासुका प्रश्नको उत्तर दिने कार्यक्रम रहेको छ ।