काठमाडौं – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मतभार २०६८ सालको जनगणनाको आधारमा गरिने बताएका छन्।
नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा सोमबार राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपश्चात प्रमुख निर्वाचन आयुक्त थपलियाले २०६८ सालको जनगणनाको आधारमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतभार कायम गरिने बताएका हुन्।
उनले ०६८ सालको जनगणनाको आधारमा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी कानूनको अनुसूची १ मा उल्लेख भए बमोजिमको मतभारलाई आधार मानी निर्वाचन सम्पन्न गराउने स्पष्ट पारे।
निर्वाचनसम्बन्धी कानूनले लगत्तै सम्पन्न भएको मतगणनाको नतिजालाई आधार मानेर मतभार कायम गर्ने व्यवस्था गरेको भए पनि हालैको जनगणनापछिको आधिकारिक नतिजा आयोगलाई प्राप्त नभएकाले ०६८ को जनगणनालाई आधार मान्नुपरेको उनले उल्लेख गरे।
‘हाम्रो अहिले भएको कानूनी व्यवस्थाअनुसार स्वाभाविक रुपले यो निर्वाचन पनि अन्य निर्वाचनभन्दा अझ मर्यादित ढंगले, व्यवस्थित ढंगले सम्पन्न हुनेछ भन्ने आयोगलाई विश्वास लागेको छ। जम्मा हाम्रा मतदाता ८८४ जना हो। दाबी विरोधलगायतका प्रक्रिया पूरा गर्नको निम्ति १० गतेदेखि यहाँबाट प्रक्रिया हुनेछन्। १३ गते हामीले मनोनयनको मिति तोकेका छौँ। २५ गते १० बजेदेखि ३ बजेसम्म यहीँ निर्वाचन हुनेछ। हामीले दुईवटा मतदान केन्द्रको यहाँ व्यवस्था गरेका छौँ,’ प्रमुख आयुक्त थपलियाले भने, ‘आयोगलाई जनगणना सम्पन्न भइसकेपछि आधिकारिक रुपमा जनगणनाको नतिजा प्राप्त भइनसकेको हुनाले ०६८ सालको जनगणनाको आधारमा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी कानूनको अनुसूची १ मा उल्लेख भए बमोजिमको नै मतभारलाई आधार मानी यो निर्वाचन सम्पन्न गर्ने कुरा पनि म यहाँहरुलाई निवेदन गर्न चाहन्छु।’
उनले २५ गते हुने निर्वाचनका लागि दुईवटा मतदान केन्द्रको व्यवस्था गरिएको जानकारी दिए। प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र व्यवस्था गरिएको उनले बताए।
प्रमुख आयुक्त थपलियाले २५ गते दिउँसो ३ बजेसम्म मतदान सम्पन्न गरेर ४ बजेदेखि मतगणना गरी साँझ ७ बजेभित्र परिणाम प्रकाशित गरिसक्ने आयोगको आन्तरिक तयारी रहेको बताए। कुनै उम्मेदवारले बहुमत प्राप्त नगरेमा २६ गते नै अर्को निर्वाचन गर्ने उनले जानकारी दिए। निर्वाचनका लागि पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई निर्वाचन अधिकृत नियुक्त गरिएको निर्वाचन आयोगले जनाएको छ।