काठमाडौँ । नेपाल सरकार प्रधानमन्त्री एवं गृहमन्त्री स्तरको यही फागुन ४ गतेको निर्णयले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका ४ जना मध्ये ३ जना वरिष्ठ अधिकृतलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
दर्ज्यानी चिन्हबाट सुशोभित हुने वरिष्ठ अधिकृतहरूमा सशस्त्र प्रहरी नायव महानिरीक्षकहरू अन्जनी कुमार पोख्रेल, दिपेन्द्र शाह र पुरुषोत्तम थापा रहेका छन् ।
समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सङ्गठनमा आबद्ध भएपछि पदोन्नति महत्त्वपूर्ण रहने उल्लेख गर्दै बढुवासँगै बढेको पदीय जिम्मेवारीलाई अझ बढी उत्तरदायी भई पूर्ण व्यावसायिकताका साथ निर्वाह गर्न निर्देशन दिए ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले आर्थिक अनियमितता लगायत नेतृत्व गर्ने ठाउँमा थोरै मात्र गल्ती गरे पनि क्षम्य नहुने उल्लेख गर्दै समाजका सबै तहले कामको मूल्याङ्कन गर्ने भएको हुँदा सङ्गठन, पेसा र मुलुकप्रति पूर्ण निष्ठा वान भई समर्पित रहन निर्देशन दिए ।
उनले बढुवा भएका अधिकृतहरूलाई ज्ञान, सीप, क्षमता र अनुभवको आधारमा थप जिम्मेवारी दिइएको बताउँदै सशस्त्र प्रहरी बल नेपालमा पहिलो ब्याचका रूपमा नयाँ भर्ना भएका अधिकृतहरू पदोन्नति भएकोले यो एउटा ऐतिहासिक पदोन्नति भएको उल्लेख गरे ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले जहाँ जुन जिम्मेवारीमा रहे पनि त्यहाँ सङ्गठनसँग सम्बन्धित हरेक पक्षहरूमा पथ प्रदर्शक र रोल मोडल बन्नु पर्ने उल्लेख गर्दै सङ्गठनले विभिन्न पक्षहरूमा सुधारको योजनाहरू अघि सारेको र यस्ता योजनाहरू प्रभावकारी रूपमा गराउन सकल दर्जाका राष्ट्र सेवकहरूलाई निर्देशन दिए।
कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला सङ्घकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याल तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम र वंशीराज दाहाल, सशस्त्र प्रहरी परिवार महिला सङ्घका पदाधिकारीहरू लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृत, अधिकृत र बिल्लादार जवानहरूको समेत उपस्थिति रहेको थियो ।